हेटौंडाः पछिल्लो एक साता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । हरेक दिनजसो संक्रमितको संख्या बढ्ने दर उच्च छ । मकवानपुरमा पुस २७ गते मंगलबारदेखि हिजो माघ ४ गते मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या ७ सय ९९ पुगेको छ । अघिल्लो मंगलबार ५८ जना संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको स्वास्थ्य कार्यालय मकवानपुरले हिजो मंगलबार एकैदिन २ सय ८५ जना संक्रमित पहिचान भएको जनाएको छ ।
यसरी उच्च दरमा संक्रमण बढिरहे पनि संघीय, प्रदेश र स्थानीय सरकारहरुका प्रतिनिधिहरु र सरकारी अधिकारीहरु बैठकमै सीमित छ । संक्रमणको दरलाई नियन्त्रणमा लिन उपयुक्त रणनीति बनाउन र कार्यान्वयन गर्न तीन तहका सरकारका प्रतिनिधि विफल छन् । संक्रमणको दरको तुलना कोरोना संक्रमितमा जटिल समस्या नदेखिनु सुखद् पक्ष छ । अन्यथा ठूलो दुर्घटना व्यहोर्नुको विकल्प हुने थिएन ।
यतिबेला पनि जनप्रतिनिधि र सरकारी अधिकारीहरु नागरिक जिम्मेवार नभएको आरोप लगाइरहेका छन् । जनप्रतिनिधि र सरकारी अधिकारीको एउटै धारणा छ, ‘नागरिकले सतर्कता अपनाएन ।’ स्वास्थ्य अधिकारीहरु भन्छन्, ‘एक तिहाई स्वास्थ्यकर्मी नै संक्रमित छन् । सेवा प्रवाह नै अवरुद्ध हुने अवस्था छ ।’ तीन तहका सरकार आफूआफू पन्छिने बहानाको खोजीमा छन् ।
समुदायमा संक्रमण व्यापक भइरहेका बेला प्रदेश सरकारका मन्त्री दिनहुँ मातहतका स्वास्थ्य इकाईको अनुगमनमा व्यस्त हुनुहुन्छ । देशभरका प्रमुख जिल्ला अधिकारीजस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डे पनि लागू नहुने आदेश जारी गर्न अग्रसर हुनुहुन्छ । प्रजिअ पाण्डेले मास्कको प्रयोग बढाउन प्रचारात्मक कार्य गर्ने, मास्कको वितरण दर बढाउने, भीडभाड नियन्त्रण गर्ने, खोपको दर र दायरा बढाउने, स्वास्थ्य संस्थाको पूर्वाधार तयार पार्ने काम गर्नुपर्ने औँल्याउँदै सोहीबमोजिमको कार्य भइरहेको बताउनुहुन्छ । तर, व्यवहारमा त्यस्तो देखिन्न ।
यता स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाई आवश्यक समन्वयको काम भइरहेको बताउनुहुन्छ । समन्वयसँगै नियमित खोप लगाउने काम पनि भइरहेको गुरागाई बताउनुहुन्छ । पछिल्लो समय स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमै समस्या भएको उल्लेख गर्नुहुँदै निमित्त प्रमुख गुरागाई भन्नुहुन्छ, ‘अधिकांश स्वास्थ्यकर्मी संक्रमित छन् । सीमित संख्यामा स्वास्थ्यकर्मीले पहिलो डोज, दोस्रो डोज, बुस्टर डोज खोप लगाउने काम भ्याउनु परेको छ । यसैबीच माघ ७ गतेदेखि नवजात शिशुका लागि नियमित खोपको कार्यक्रम पनि सञ्चालन गर्नुपर्नेछ ।’
यता हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफ्नो तर्फबाट सक्दो प्रयास भइरहेको बताउनुहुन्छ । नागरिक सचेत नहुँदा संक्रमण नियन्त्रण गर्न गाह्रो भएको उल्लेख गर्नुहुँदै आज बुधबारदेखि सचेतनाका लागि प्रचारप्रसारलाई व्यापक बनाउने मेयर महतले बताउनुभयो । कोभिड–१९ नियन्त्रण जिल्ला समितिमा मेयरको अनुपस्थितिप्रति गुनासो बढेको भन्ने प्रश्नमा मेयर महतले भन्नुभयो, ‘हिजोको जस्तो मेयर होइन आजको । आज स्थानीय सरकारको मेयरले धेरै कुरा हेर्नुपर्छ । मेयरको व्यस्तताका कारण मेयरकै हैसियतमा बैठकमा स्वास्थ्य महाशाखाका प्रमुखलाई पठाएको छु ।’ मेयर महतले संक्रमित घरमै आइसोलेसनमा बस्ने र नागरिकले सतर्कता अपनाउने सुझाव दिनुहुन्छ ।
प्रमुख सरोकारवाला निकायका अधिकारीहरु आआफ्नो सन्दर्भको कुरा गरिरहँदा संक्रमणको दर ह्वात्तै बढ्दा नागरिक अन्यौलमा छन् । महामारीका बेला अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकारहरुको गाली खान बाध्य छन् कोरोना संक्रमित नागरिक । पछिल्लो संक्रमणको दरलाई कोरोनाको तेस्रो लहर मान्ने हो भने नागरिकले कोरोना भाइरसको तेस्रो लहरको मार खेप्नु परेको एक साता मात्रै भएको छ । एक साताअघिसम्म तीनै तहका सरकार कोरोनाप्रति कुनै सतर्कता नै थिएन । अहिले आएर नागरिकलाई मात्रै दोष देखाएर सरकार गर्नुपर्ने काम र जिम्मेवारीलाई बेवास्ता गरिरहेको छ ।
संक्रमणको दर ह्वात्तै बढिसक्दा सरकारहरुले परीक्षणको दर बढाउन सकेको छैन । आदेश दिने परम्परागत ढाँचाको विपरित उपलब्ध संरचना र संयन्त्रको परिचालन गरेर नागरिकलाई सचेत हुन आग्रह गर्ने, प्रेरित गर्नेतर्फ सरकार अग्रसर छैन । तीनै तहका सरकारले उपलब्ध संरचना र संयन्त्रको परिचालन गरेर घरदैलोमै पुगेर नागरिकलाई सचेत गराउन सक्नुपथ्र्यो । लक्षण देखिएकाको स्वाब संकलनको घुम्ती सेवा सञ्चालन गर्ने जिम्मेवारी कुनै पनि सरकारले लिन सकेको छैन । बरु हेटौंडा उपमहानगरको सन्दर्भमा बिहान साढे ७ बजे सुरु हुने गोरक्षेश्वर स्वाब संकलन केन्द्रको लाइन बिहान ९ बजे सकियो भने साढे ९ बजे गोरक्षेश्वर स्वाब संकलन केन्द्र पुग्ने विरामीको स्वाब संकलन हुन सक्दैन ।
२४ सै घण्टा स्वाब संकलन र स्वाबको तत्काल परीक्षण हुने सुनिश्चितता हुन सकेको छैन । तेस्रो लहरले समुदायमा संक्रमण व्यापक भइसक्दा पनि शनिबार स्वाब संकलनको कार्य बन्द हुन्छ । सार्वजनिक विदाको दिनको हालत पनि उस्तै हो । यस्ता कमजोरी सुधारौं भनेर कसैले प्रयत्न गरेको छैन ।
संक्रमितको सम्पर्कमा आएकाहरुको निगरानी गर्ने, औषधीको सहज उपलब्धता सुनिश्चित गर्नेतर्फ पनि ध्यान दिनुपथ्र्यो । तर, यसतर्फ कुनै ध्यान नै पुगेको छैन । आजको जमानामा पनि पढाइरहनुपर्छ र ? भन्दै जनप्रतिनिधिहरु पत्रकारलाई नै प्रतिप्रश्न गर्छन् । तर, जनप्रतिनिधि र सरकारी अधिकारीले बुझ्नु जरुरी छ कि नागरिकको सेवाकै लागि जनप्रतिनिधि र सरकारी अधिकारीलाई अभिभावकको दर्जा दिइएको हो । अभिभावकको जिम्मेवारी पूरा नगरी आजको जमानाको तर्कले हुन्न ।
सरकार अहिले खोप लगाएको कार्ड नभए बाहिर हिँड्डुल नै गर्न नदिनेसम्मको धम्की दिइरहेको छ । नागरिकले किन खोप लगाइरहेका छैनन् भन्ने विषयलाई गम्भीरताका साथ लिनुपर्ने सरकार नागरिकलाई धम्की दिएर बस्न सुहाउँदैन । दाताले खोप देला र खोप लगाइदिउँला भनेर बसेको सरकारले बिर्सनुहुन्न कि हिजो ‘खोप खोई सरकार ?’ भन्दा तीनभाई सरकारका आँखा र कान कता थियो ? शनिबार स्वाब संकलन बन्द गर्ने सरकारलाई चैं नागरिकले बाटो हिँड्न दिन्न भन्न पाइने कि नपाइने ?
जनताले मानेनन्, जानेनन् भनेर सरकारले छुट पाउँदैन । जनतालाई सम्झाउने, बुझाउने, जनताको सेवा गर्ने अनि स्यावासी पाउने हो सरकारले । राज्यको सुविधामा बसेर जनतालाई धम्क्याउने सरकार, सरकार होइन । अहिले त सरकाररुपी कर्मचारी मात्रै होइन जनप्रतिनिधि पनि तलबी छन् । तलब खाने कर्मचारी र जनप्रतिनिधिले जागिर गरे जस्तो हाजिर र बैठक मात्रै गर्ने कि कर्मचारी र जनप्रतिनिधि राज्यको संयन्त्रमा भएको सावित गर्ने गरी काम गर्ने ? महामारीमा सम्भव प्रयास गरेको देखिनुपर्छ । चेतना होस् आजको समाज स्वघोषित वरिष्ठहरुको भेलापछि प्रमुख जिल्ला अधिकारीको आदेश मात्रैले पनि चल्दैन ।