हेटौंडाः हेटौंडा–४,स्थित हुप्रचौरमा सुरु भएको १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फ १० विधाका खेलहरु सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको एथ्लेटिक्स प्रतियोगितामा १० विधाका खेलहरु सम्पन्न भएको हो । प्रतियोगिता मकवानपुरको हेटौंडा सहित अन्य पालिकाका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताबाट छनौट भएर आउने खेलाडीहरुको सहभागिता रहेको छ । आइतबार सम्पन्न भएको एथ्लेटिक्स तर्फको १० वटा विधाको खेलहरुबाट २० जना खेलाडीहरु छनोट भएका छन् । हेटौंडा उपमहानगरपालिका नगरस्तरीय र जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजना जिम्मेवारी नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले भूमिका निर्वाह गर्नुभएको छ । एथ्लेटिक्स तर्फ विभिन्न विधामा प्रथम भएका खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक राजाराम पोखरेलले बताउनुभयो ।
१०० मिटर दौडमा पुरुष तर्फ हेटौंडा उपमहानगरपालिकाका सुवीन लामा र महिलातर्फ थाहा नगरपालिकाकी आकृति गोपाली छनोट भएको निर्णायक रञ्जिता फूयालले जानकारी दिनुभएको छ । ४०० मिटरको दौडमा पुरुषतर्फ बकैया गाउँपालिकाका सम्भव माझी र महिलातर्फ अनिष पाल छनोट भएका छन् । ८०० मिटरको दौडमा बकैया गाउँपालिकाकै सम्भव माझी र महिलातर्फ थाहा नगरपालिकाकी बविता तामाङ छनोट भएका छन् । सटफुटमा पुरुषतर्फ हेटौंडा उपमहानगरपालिकाका सुजल प्रजा र महिलामा कैलाश गाउँपालिकाकी सरिता सुनार छनौट भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन थिङ र बागमती गाउँपालिकाका मुना राइ छनौटमा पर्न सफल भएका छन् ।
त्रिपल जम्पमा पुरुषतर्फ बकैया गाउँपालिकाका पाङदान राइ र महिलातर्फ थाहा नगरपालिकाकी प्रिया खत्री छनौट भएकी छिन् । लङ्ग जम्पमा पुरुषतर्फ हेटौंडाका सुविन लामा र महिलातर्फ थाहा नगरपालिकाकै आकृति गोपाली छनौट भएकी छिन् । ज्याब्लिङ्ग थ्रोमा बागमतीका अभिषेक थापा र महिलार्फ बागमतीकै अमिका रुम्बा छनौट भएकी छिन् । ४ गुण १०० मिटरको दौडमा बकैया गाउँपालिका, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्रमशः प्रथम द्धितीय र तृतीय भएको छन् । महिलातर्फ बागमती गाउँपालिका प्रथम, हेटौंडा उपमहानगरपालिका द्धितीय र भीमफेदी गाउँपालिका तृतीय भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन राइ र महिलातर्फ मनुराई बागमती गाउँपालिकाका छनौटमा पर्न सफल भएका छन् ।
प्रतियोगिता अन्तर्गत कबड्डीको खेल भोलि सञ्चालन हुनेछ भने तेक्वान्दो र उसु मंगलबार सञ्चालन हुनेछ ।