मप्रसाद साह्रै सोझो मान्छे । सोझो पनि यति नि, कतैबाट आफ्नै घर फर्किंदै गर्दा यता होइन उतातिर पो हो त भनिदियो भने उतै फर्कने खालका । जीवन गुजार्न खेतीपाती गर्थे । अनुदानका नाममा कतै बिक्री नभएर अलिकति बीउबिजन पाएका थिए । सहकारीका सदस्य नभएकाले सहकारीले उसलाई मल दिनु हुँदैन भन्ने तानाशाही नियम छरछिमेकी सदस्यहरुको थियो । यस्तै मलको संकट पर्दा गाईवस्तुको गोबरमल हाल्थे । बाली राम्रो भएको खबर सुलसुले मिडियाबाट प्राप्त भएपछि कृषि कार्यालयका हाकिमहरु विदेशी डोनर लिएर आउँथे । युट्युबरहरु क्यामेरा र माइक तेस्र्याउँदै काममा बाधामात्रै दिन्थे । परिवार पाल्न धौ–धौ आम्दानी हुँदा पनि उनीहरु महिनाको चार लाख घरमै बसीबसी कमाइने भन्दै विज्ञापन गर्थे । कृषिका कर्मचारी पनि खाँट्टी दूधको खिर, पुरी, तरकारी, काँक्राका चिरा आदि खान्थे । भुँडी अटेसमटेस हुनेगरी अघौंची घिचेपछि पूरानो ग्यास्टिक सम्झिन्थे । विदेशी नआएका बेला भने फर्कनेबेला झोलामा कोसेली पनि लिएर जान्थे ।
एउटा प्राविधिकले कृषि कार्यालयले पठाइदिएको भन्दै धुलिया लाग्न थालिसकेको बीउ कोसेली पठाइदिएछ । तीन दिनमा उम्रनुपर्ने बीउ तेह्र दिनसम्म सुरसारै गरेन । अर्को बीउ खोज्दा र रोप्दा बाली ढिला भयो । यो पटक उनका केटाकेटीहरुले खेतमा कार्पेट बिछ्याएर धान रोपाईंको उद्घाटन गर्ने तयारी मिलाए । स्वदेशी प्राविधिकको अनुहार पनि आजै देखे, मप्रसादले । चुनावपछि बल्ल धान रोप्नमात्रै फर्किने भनिएका कृषिमन्त्री खेतमा आउन नभ्याएकाले उतै गमलामैं रोपेर उद्घाटन गरेको खबर आयो । आफू देशभरका किसानहरुकै प्रतिनिधि पात्र भएको ठान्ने मप्रसाद साह्रै चिन्तित भए ।
मप्रसादका छोराछोरी सबै विदेशिएका छन् । बुढाबुढी जो सकेको मिहिनेतले बाली उब्जाउ गर्छन् । घरका बुइँगलमा मुसा रोइरहेका हुन्छन्, बारीमा चरा पर्खिरहेका हुन्छन् । नेतृत्वमा रहनेले चुनढुंगा बेच्ने, राजमार्ग र विमानस्थल बनाउने नाममा हरिया वन सिध्याउँदा हर्ष माने जस्तो डहरकै नजिकका खेत भएकाले गार्ईवस्तुले पनि हरिया बाली देखेपछि मन मार्न सक्दैनन् । आक्कलझुक्कल पर्यटकका रुपमा सलह, गुबो खाने किरा, फट्के आदि पनि आइलाग्छ । जोगी, माग्ने, भिखारीसम्मलाई पाल्न पनि खेतीपाती नगरी धरै छैन ।
यसपाला मप्रसादले विविध तरकारीहरु उब्जाउ गर्यो । बेचेर तिर्ने शर्तमा बीउबिजन, मलखाद, विषादी ऋण गरेरै किनेको हो । शहरमा बेच्न लैजाँदा प्रतिकिलो भाडा २ रुपैयाँ, भारी बोक्ने सिण्डिकेटबाट ५० पैसा बोकेको ज्याला, एजेन्टको चार्ज प्रतिकिलो ४ रुपैयाँ, व्यापारीको मूल्य प्रतिकिलो १० रुपैयाँले बेच्यो । केही पटक यसैगरी तरकारी बेच्दै गर्नुपरेपछि बचेको पैसा लिएर बीउबिजन, विषादी, मलको पैसा तिर्न गयो । हरहिसाब गर्दा अझै अर्को बाली कुर्नुपर्ने देखियो ।
तरकारीको डोको लिन व्यापारीकहाँ पुग्दा ग्राहकले सोधेको मप्रसादद्वारा उत्पादित तरकारीको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुगेको थियो । आज उसले गाउँका तिउनजति बजारमा तरकारी भएपछि महंगिँदा रहेछन् भन्ने थाहा पायो । ऊ थप ऋण नबढाउनका लागि खेत बाँझो राखेर बस्ने निर्णय गर्दै घर फर्कियो । सरकार भने खेत बाँझो राख्ने किसानको खेत कब्जा गर्ने नियम बनाउँदै थियो ।