हेटौंडा : आज मंगलबार देशभर त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कार्यक्रमअन्तर्गत मतदान हुँदैछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मकवानपुरको हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा–४ स्थित हेटौंडा क्याम्पस, हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान, हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पस थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन हुँदैछ ।
स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि २ जना मैदानमा उत्रिएका छन् । प्रमुख २ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेद्वार निर्वाचनको मैदानमा होमिएका छन् । अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामाले प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् । स्वतन्त्र उम्मेद्वार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको र आफू उम्मेदवार नभएको घोषणा गर्नुभएको छ । छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुनुहुन्छ । क्याम्पसमा २ हजार ६ सय ९८ जना मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन अधिकृत सन्देश बिडारीले जानकारी दिनुभयो ।
यसैगरी, हेटौंडा क्याम्पसमा स्ववियु अध्यक्ष पदका लागि अभि मैनाली र दीपक वाईबा निर्वाचनको मैदानमा रहेका छन् । अनेरास्ववियुबाट मैनाली र अखिल क्रान्तिकारीबाट वाईबा प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् । क्याम्पसमा ६ सय ८५ जना मतदाता रहेको निर्वाचन अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो ।
थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष पदका लागि मैदानमा उत्रेकी छिन् । क्याम्पसमा ७२ जना मतदाता रहेको अखिल क्रान्तिकारी मकवानपुरका सहसचिव सुवास थोकरले जानकारी दिनुभयो । यस्तै, वनविज्ञान अध्ययन संस्थानको हेटौंडा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबाट श्यामराज भट्ट तथा अखिल क्रान्तिकारीबाट छात्र शाही अध्यक्ष पदका लागि मैदानमा होमिएका छन् । क्याम्पसमा ४ सय ३८ मतदाता रहेको स्ववियुका कार्यवाहक अध्यक्ष अमृत देवकोटाले जानकारी दिनुभयो ।
हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट प्रशान्त भण्डारी र अखिल समाजवादीबाट नवीना घलान अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता छन् । मनहरी र वंशगोपाल बहुमुखी क्याम्पसमा यसअघि नै स्ववियुको नयाँ कार्यसमिति सर्वसम्मत चयन भइसकेका छन् भने हेटौंडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसमा विद्यार्थीको स्ववियु निर्वाचन नहुने भएको छ ।