हेटौँडा : मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघले मकवानपुरकी नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठलाई स्वागत गरेको छ । सोमबार संघका अध्यक्ष अमितकुमार श्रेष्ठसहितको टोलीले प्रजिअ श्रेष्ठको कार्यकक्षमा पुगेर स्वागत गरेको हो ।
प्रजिअ श्रेष्ठलाई स्वागत गर्नुहुँदै अध्यक्ष श्रेष्ठले बजारमा आर्थिक मन्दीका कारण समस्या परेको बताउनुभएको छ । उहाँले बजारमा भइरहेको आर्थिक मन्दीलाई आत्मसात गर्दै बजारमा बिलविजक बिना नै समान निर्वाधरुपमा आइरहेको जिकिर गर्नुभयो । उक्त कार्यलाई नियन्त्रण गरेर आवश्यक कारबाही प्रक्रियालाई अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रजिअ श्रेष्ठले संघले उठाएको विषय कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्वागत कार्यक्रममा संघको पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, सल्लाहकारलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रजिम श्रेष्ठलाई स्वागतपत्र प्रदान गरिएको थियो ।