
हेटौंडाः पछिल्लो डेढ महिनाको अवधिमा हेटौंडा अस्पतालमा २० वर्षभन्दा कम उमेरका ४५ जना महिला सुत्केरी भएका छन् । जसमध्ये २० वर्ष भन्दा कम उमेरमा दोस्रो सन्तान जन्माउने महिलाको संख्या ९ रहेको छ । पछिल्लो डेढ महिनाको अवधिमा हेटौंडा अस्पतालमा २ सय ५६ जना महिला सुत्केरी हुँदा २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको संख्या १७ दशमलव ५३ प्रतिशत देखिन्छ ।
नेपाल सरकारले २० वर्षभन्दा कम उमेरका केटा वा केटीले विवाह गर्न नपाइने कानुनी व्यवस्था गर्दै बालमैत्री मुलुक निर्माण गर्ने योजना अघि सारे पनि २० वर्ष भन्दा कम उमेरमै विवाह गर्ने र अभिभावक बन्ने क्रम रोकिन सकेको छैन । चैत १ गतेदेखि बैशाख १५ गतेसम्ममा हेटौंडा अस्पतालमा मकवानपुर जिल्लाका ४० जना र बारा जिल्लाका ३ तथा सर्लाही जिल्लाका २ जना महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका हुन् ।
२० वर्षभन्दा कम उमेरमा सन्तान जन्माउने सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २३ जना महिला रहेका छन् । जसमध्ये ६ जनाले दोस्रो सन्तान जन्माएका छन् । हेटौंडा उपमहानगरपालिकापछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ५ जना, बकैया र मनहरी गाउँपालिकाका ३/३ जना, भीमफेदी र बागमती गाउँपालिकाका १/१ जना महिलाले २० वर्षभन्दा कम उमेरमै सन्तान जन्माएका छन् । स्मरणीय के छ भने बकैया र मनहरी गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेको छ ।
मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाका नागरिक भने स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभई थप उपचार गर्नुपर्दा हेटौंडा आउनुभन्दा काठमाडौं जाने क्रम बढी भएकाले त्यस क्षेत्रमा २० वर्षभन्दा कम उमेरमा सन्तान जन्माउनेको संख्या शून्य देखिएको हो । जिल्ला अस्पतालको रुपमा सञ्चालित हेटौंडा अस्पतालबाहेक जिल्लाका अन्य ९ वटै पालिकामा प्रसुती सेवा उपलब्ध भएकोले त्यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा पनि सुत्केरी हुने महिलाको उमेरलाई विश्लेषण गर्ने हो भने २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुने महिलाको संख्या उल्लेख्य देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।
कम उमेरमा गर्भवती हुँदा आमा र गर्भमा रहने भ्रुण दुवै जोखिममा रहने स्वास्थ्यकर्मीको भनाइ छ । सुत्केरी हुन अस्पताल आउने २० बर्षभन्दा कम उमेरका गर्भवतीको सन्तान प्राप्त गर्ने, सन्तानको स्याहार गर्ने, अभिभावकत्व निर्वाह गर्ने कुनै योजना नै नहुने हेटौंडा अस्पतालका महिला तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डा. राम काजी महर्जन बताउनुहुन्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा २० बर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ । ऐनको उपदफा २ मा २० बर्ष भन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख गरेको भने उपदफा ३ मा २० बर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन बर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।