मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड मेटाउँदै ।

हेटौँडा : आइतबार दिउँसो हेटौँडा अस्पतालको बोर्ड मेटाउनेलाई पक्राउ गर्न स्थानीय प्रशासनले प्रहरीलाई आदेश दिएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले मकवानपुरका प्रहरी प्रमुखलाई अस्पतालको बोर्ड हटाउनेहरुलाई पहिचान गरी पक्राउ गर्न र आवश्यक कारवाही गर्न निर्देशन दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक अधिकारीका अनुसार सरकारी सम्पत्ति, नाम माथि बलजफत्ती गरेको घटनाप्रति प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण भई कारवाहीका लागि प्रहरीलाई निर्देशन दिनुभएको हो । प्रजिअ श्रेष्ठले मुख्यमन्त्री बहादुरसिंह लामासँग समेत समन्वय गरी प्रदेश सरकार मातहतको संरचनामा बलजफत्ती भएको घटना जानकारी गराउँदै कारवाहीको प्रक्रिया अगाडि बढेको विषयमा जानकारी गराउनुभएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक अधिकृतले जानकारी दिए ।

राज्यको सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु स्थानीय प्रशासनको जिम्मेवारी भएको उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई परिचालित हुन निर्देशन दिनुभएको अधिकृतको भनाइ छ । केही राजनीतिक दल निकटका युवाले बलजफत्ती हेटौँडा अस्पतालको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको भाग भेटाउने र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको भागमा मदन भण्डारी छोपिने गरी हेटौँडा अस्पताल लेखिएको फ्लेक्स टाँसिदिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार सामाजिक सञ्जालमा उपलब्ध भएको भिडियो हेरेर व्यक्ति पहिचान गर्ने र उनीहरुको खोजी गर्ने कार्य भइरहेको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार आवश्यक कारवाहीका लागि प्रहरी सक्रिय रहेको उहाँले जानकारी दिनुभयो ।