कोभिड महामारीले सबै क्षेत्र तहसनहस भइरहँदा सूचना सार्वजनिक हितका लागि भन्ने नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । प्रत्येक वर्ष यो दिवसका लागि फरक नारा चयन हुन्छन् र दिवस मनाइन्छ, तर तात्विक भिन्नता हुँदैन । यो दिवस पनि औपचारिकतामा मात्र सीमित हुँदै आएको छ । अघिल्लो वर्षदेखि त कोरोनाले सञ्चार क्षेत्र क्षतविक्षत नै बनेको छ । पाँच सय बढी नेपाली सञ्चारकर्मीले आफ्ना अधिकार गुमाउनु परेको छ । विभिन्न बहानामा रोजगारी गुमाउने तथा अन्य हिंसा सहन बाध्य नेपाली प्रेस क्षेत्रका लागि यो स्वतन्त्रता नारामा मात्र सीमित हुँदै आएको छ । पेशागत संस्थाहरु नभएका हैनन् । तर तिनले पनि प्रभावकारी वकालत गर्न सकेको अवस्था छैन ।
प्रत्येक वर्षको मे ३ तारिख विश्वभरका सञ्चार माध्यम र तिनमा काम गर्ने सञ्चारकर्मीले आफ्नै दिनका रुपमा मनाउँदछन् । तर यसलाई औचित्यपूर्ण बनाउनेतर्फ ठोस पहल हुन सकेको छैन । सञ्चारका माध्यमका अधिकार, स्वतन्त्रता, मुद्दा, मापदण्ड र महत्वजस्ता विषयमा ठोस नीति आवश्यक छ । एक दिन गरिने बहसले मात्र प्रेस स्वतन्त्रता जीवन्त रहन सक्दैन । विशेषगरी विश्वमै सत्ता पक्षबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास हुने गर्दछन् । त्यसमाथि नेपाली राजनीतिले त प्रेसका अधिकार विपक्षमा भएको समयमा बाहेक अघिपछि सुन्नसमेत नचाहेको अवस्था छ । विपक्षमा हुँदा प्रेसको धुरन्धर वकालत गर्ने दल र नेतृत्व सत्तामा पुगेपछि आफ्नो मात्रै भजन गाइदियोस् भन्ने मानसिकताले ग्रस्त छ ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले अघि सारेका अनेक तौरतारिकाको प्रचारप्रसार गरिदिनुपर्ने सञ्चार माध्यम र सञ्चारकर्मीका समस्यालाई पटक्कै ध्यान दिएको अवस्था छैन । व्यापार व्यवसाय बन्द हुँदा सञ्चार माध्यममा हुने विज्ञापन तथा बिक्री वितरणसमेत ठप्प हुनु स्वभाविक हो । तर सञ्चार माध्यमका कठिनाई कहिँ कतैबाट सम्बोधन हुने गरेको छैन । आम्दानीका सबै बाटाहरु बन्द भएपछि लगानीकर्ताले श्रमजीवी पत्रकारलाई दिनुपर्ने पारिश्रमिक नदिइँदा खेप्नुपर्ने जटिलतालाई सम्बोधन गर्नतर्फ राज्यका निकायहरुबाट योजना बनाइनु आवश्यक छ । त्यस्तै पेशागत संघसंस्थाहरुले पनि श्रमजीवीका समस्यामा सहजीकरण गर्नुपर्ने हुन्छ । तर सुनुवाई भइरहेको अवस्था छैन ।
कोभिड महामारीले सञ्चारकर्मी पनि संक्रमित भएका छन् । आम नागरिकका लागि सूचना दिनुपर्ने दायित्व बोकेका सञ्चारकर्मीको जोखिमलाई ध्यान दिएर थप सेवा र सुविधा हुनुपर्ने अवस्थामा कतिपय सञ्चारगृहले कोभिडकै बहानामा बेतलबी विदादेखि रोजगारीबाटै छुट्टी दिनेसम्मका काम हुँदै आएका छन् । सूचना पाउनदेखि प्रकाशन तथा प्रसारणसमेतमा कठिनाई झेल्नुपर्ने अवस्थामा सूचनाकै महत्व दर्शाउँदै दिवस मनाउनु कति औचित्यपूर्ण भन्ने प्रश्न उठ्नेछ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अनुमोदन गरेपछि मार्च ३ तारिख प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । तर शासन शैली, शासकीय प्रणाली र सरकारको नेतृत्वको उदार वा कठोर नीतिका आधारमा प्रेसले अधिकारको उपयोग गर्नुपर्ने अवस्था छ । विश्वभर एउटै मान्यताबाट सूचनाको उपयोग गर्नसक्ने वातावरण बनाउन सक्नुपर्दछ ।