हेटौँडा उपमहानगरपालिका ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले शुक्रबारको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हस्ताक्षर गर्नुभएको कार्यपालिका बैठकका निर्णय आइतबार दिउँसो नगरप्रमुख मीना कुमारी लामाको सचिवालयका कर्मचारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

शुक्रबार बैठकपछि प्रवक्ताले सार्वजनिक गर्नुभएको योजनाको रकमान्तरको विषय भने आइतबार सार्वजनिक भएको निर्णयको विवरणमा समावेश गरिएको छैन । कार्यपालिका बैठकका निर्णय १४ वटा बुँदामा सार्वजनिक गरिएको छ । शुक्रबारको कार्यपालिका बैठकमा उपमहानगरको चालु आर्थिक वर्षको आय–व्ययको अवस्था प्रस्तुत भएको छ । संघीय, प्रदेश अनुदान र आन्तरिक आय गरी १ अर्ब ५९ करोड २२ लाख ५० हजार रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ । यो आम्दानी चालु आर्थिक वर्षको अनुमानित आयको ५५.९८ प्रतिशत हो । यस्तै ९६ करोड १७ लाख ८२ हजार रुपैयाँ खर्च भएको बताइएको छ । यो चालु आर्थिक वर्षको अनुमानित खर्चको ४२.२३ प्रतिशत हो ।

कार्यपालिका बैठकले समावेशीकरण नीति तर्जुमा तथा निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि मस्यौदा तर्जुमाका लागि सामाजिक विकास समितिको संयोजकत्वमा कार्यदल गठन गर्ने, अंंग्रेजी माध्यमबाट पठनपाठन हुने सामुदायिक विद्यालयमा अंग्रेजी भाषाका पाठ्यपुस्तक अध्यापन गर्दा सरकारी प्रकाशकबाट प्रकाशित अंग्रेजी पुस्तक मात्र लागू गर्न निर्देशन दिने, विद्यार्थीको पोशाक ५ वर्षसम्म परिवर्तन गर्न नपाइने, सकेभर नेपाली उत्पादनलाई जोड दिने, नेपाली र अंग्रेजी माध्यमका विद्यार्थीलाई एउटै पोशाक लागू गर्न निर्देशन दिने निर्णय कार्यपालिकाबाट भएको छ ।

शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णय ।