लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका तीनजना ।

हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ५ बजेको समयमा हेटौँडा–४ बाट २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले धनुषा जिल्लाको महेन्द्रनगर नगरपालिका–२ का ३४ वर्षीय जुनेन अन्सारी र ना १७ प ४१७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–३ घर भई हेटौँडा–५, भैरबरोड बस्ने ३० वर्षीय विश्वराज रुपाखेतीलाई ४ ग्राम ८१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै शनिबार साँझ ६ बजेको समयमा हेटौँडा–१ स्थित थोक तरकारी बजार नजिकै सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका हेटौँडा–१ का २४ वर्षीय सुशीलदास बनियालाई २ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई मकवानपुर प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । पछिल्लो समय मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित युवालाई पक्राउ गर्ने क्रम बढेको छ ।