हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ भने एक कंकाल फेला परेको छ । प्रदेशको काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लाका २ जनाको मृत्यु भएको छ भने चितवनमा कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६, मेसिगाँउमा ट्याक्टरबाट हामफाल्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्य घर भई हाल मण्डनदेउपुर नगरपालिका–७ बस्ने २७ वर्षीय जयराम मण्डन रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राती १० बजेर ३० मिनेटको समयमा म प्र ०३–००१ त ७२८५ नम्बरको ट्याक्टरबाट घर फर्कने क्रममा ट्याक्टरबाट हामफाल्दा जयराम गम्भिर घाइते भएका थिए । घाइते जयरामलाई उपचारका लागि मण्डनदेउपुर आधारभुत अस्पताल लगिएकोमा राती ११ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक पर्सा जिल्लाको बौचरमाई–७ का ४० वर्षीय सुरेश प्रसाद यादव प्रहरीको नियन्त्रणमा रहेको छ ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका–३, ढुङ्गानागाउँस्थित थ्रेसरले च्यापेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय धर्मराज ढुङ्गाना रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेको समयमा आफ्नै बारीमा ना ६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको गहुँ चुट्ने थ्रेसर लगाई फर्किने क्रममा सोही थ्रेसरमेसिन पल्टिएर लाग्दा ढुङ्गाना गम्भीर घाइते भएका थिए । ढुङ्गानालाई उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल लगिएकोमा दिउँसो ४ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–२३, जगतपुरका ४२ वर्षीय कृष्ण अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, नारायणी नदीमा एक मानव कंकाल फेला परेको छ । शनिबार साँझ ७ बजेर १५ मिनेटको समयमा नदीको किनारमा पहिचान छुट्याउन नसकिने मानव कंकाल फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात कंकाल भरतपुर सरकारी अस्पताल लगिएको छ ।