हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले वरिष्ठ मुक्तककार शिव अधिकारीलाई ‘शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१’ बाट सम्मान गरेको छ । सूर्योदय नगरपालिका–१४, बतासेका अधिकारीलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
अधिकारीका ६ वटा मुक्तक संग्रह झटरो, भद्रगोल, भाँडभैलो, श्रद्धाञ्जली, अधुरो सपना र गजल संग्रह यथार्थता, धर्तीको माटो प्रकाशित छन् । यस्तै जिल्लास्तरीय मुक्तक प्रतियोगितामा बकैयाको हात्तीसुँडेस्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रा मोनिक नेगी उत्कृष्ट मुक्तककार घोषित हुन सफल भएकी छिन् । नेगीले छिमेकीले हस्तक्षेप गर्दा चुपचाप छ सरकार भन्दै वाचन गर्नुभएको मुक्तक उत्कृष्ट भएको हो । १०० पूर्णाङ्कमा ७२ पूर्णाङ्क प्राप्त गर्दै नेगी उत्कृष्ट मुक्तककार घोषित हुन सफल भएकी छिन् । उत्कृष्ट मुक्तककार नेगीलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । ८ प्रतियोगीमध्ये ७ प्रतियोगीले मात्र मुक्तक वाचन गरेका थिए ।
हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयमा अध्ययनरत् रोशिका भट्टराईले आमा बाबा गाउँमा भारी बोक्छन्, हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल बोर्डिङ स्कुलमा अध्ययनरत जिज्ञासा पौडेलले सपना रोप्दा रोप्दै, हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् छात्रा पद्मा ढकालले समाजको कैदमा बसिरहेकी छोरी, हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रा प्रसिद्धि भट्टराईले समस्या नै समस्याको, चन्द्रोदय माध्यमिक विद्यालयकै रितिका खतिवडाले हाँगामा बसेर, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी सन्ध्या लम्सालले वर्षामा उर्लने ती छाल जस्तै भयो जीवन भन्दै मुक्तक वाचन गर्नुभएको थियोे । मुक्तककार अजर फूयाँल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
३१४ औं साहित्य शृङ्खलाको अवसरमा ३१ औं मुक्तक साँझ कार्यक्रम–२०८१ समेत भएको थियो । उक्त कार्यक्रममा मुक्तककार रोमा लम्साल, डिबी बर्ताैला, सागर तिम्सिना, गायत्री रुपाखेतीले ६÷६ वटा मुक्तक वाचन गर्नुभएको थियो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा वरिष्ठ मुक्तककार अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक सल्लाहकार जनार्दन खनाल लगायतको उपस्थिति रहेको थियो ।