हेटौंडाः पिप्ले युवा क्लबको १४ औं बार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप बिष्ट, वडा नम्बर ५ भित्रका विभिन्न क्लबका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको अतिथ्यता थियो ।

हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिरको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि बानियाँले आफू वडा अध्यक्ष हुनुमा पनि पिप्ले युवा क्लबको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पिप्ले युवा क्लबलाई पहिलेदेखि नै सहयोग गर्दै आइरहेको र बहुउपयोगी कभर्ड हलका लागि पनि सहयोग गरेको भन्दै आगामी दिनमा पनि पिप्ले युवा क्लबको अगुवाईमा बन्न लागेको क्याम्पा खेलकुद मैदानका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी बानियाँले क्याम्पाडाँडामा रहेको खेलकुद मैदान वडा नम्बर ५ को सम्पत्ति रहेको र यसलाई कसैले खोस्न खोज्छ भने वडा नम्बर ५ ले त्यसको प्रतिकार गर्नेसमेत बताउनु भयो । क्याम्पामा रहेको खेलकुद मैदान वडा नम्बर ५ को मातहतमा ल्याउन सम्बधित ठाउँमा आवश्यक छलफल भैरहेकोसमेत जानकारी गराउनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महांसघ बागमती प्रदेश कमिटी अध्यक्ष प्रताप बिप्टले पिप्ले युवा क्लबको अध्यक्ष सुशील घिमिरेको अगुवाईमा विभिन्न सामाजिक कार्यहरु हुँदै आइरहेको र आगामी दिनहरुमा पनि यस्तै कार्यहरु गर्दै मकवानपुर जिल्ला एवम् देशकै नमूना क्लब बनाउन शुभकामना दिनुभयो । क्लबले पठन संस्कृतिको विकासका लागि पनि आवश्यक कार्य गर्नुपर्नेमा विष्टको बुझाव रहेको थियो । कार्यक्रममा पिप्ले युवा क्लबका कोषाध्यक्ष सुदिप सापकोटले पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलमा भएको आय–व्ययको विवरण प्रस्तुत गर्नु भएको थियो । सापकोटाले निर्माणाधीन बहुउपयोगी कभर्ड हलको छिट्टै उद्घाटन गरिनेसमेत जानकारी गराउनु भयो ।

क्लब अध्यक्ष सुशील घिमिरेले निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै हेटौंडा–५, स्थित क्याम्पाचौरलाई व्यवस्थित बनाउने बताउनुभएको छ । क्याम्पाचौरमा ४ सय मिटरको रनिङ ट्र्याकसहितको फुटबल मैदान बनाएर खेलकुदलाई अझै व्यवस्थित गर्नुका साथै कभर्ड हल निमार्णको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।