केन्द्रीय सदस्यका विजयी सुमार्गी र पराजित न्यौपाने ।

हेटौंडाः नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा हेटौंडाका अरुण राज सुमार्गी विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचन कार्यक्रमबाट जिल्ला/नगर संघको तर्फबाट केन्द्रीय सदस्यमा मकवानपुर जिल्लाबाट उम्मेदवारी दिनुभएका सुमार्गी १८ जनाको सिटमा सातौं नम्बरमा विजयी हुनुभएको हो । यस्तै रामेछाप जिल्लाबाट सिफारिस लिएर उम्मेदवारी दर्ता गराउनुभएका राजकुमार न्यौपाने भने पराजित हुनुभएको छ ।

सुमार्गीले एक सय पाँच मत मध्ये ६६ मत प्राप्त गर्नुहुँदै सातौं नम्बरमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहनुभएका सुमार्गी यसअघि पनि महासंघको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । यस्तै मकवानपुर उद्योग वाणिज्य संघकै निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने भने बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

बागमती प्रदेशबाट एकजना केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा १६ जना मतदाता रहेकोमा चितवनका सहनलाल प्रधान ९ मतसहित निर्वाचित हुनुभएको छ । मकवानपुरका न्यौपाने ५ मतसहित दोस्रो स्थानमा रहनुभयो । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालको समूह प्रतिस्पर्धामा छ । महासंघका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ ।