बु्ढ्यौली साहित्य समाजका संयोजक आरसी रिजाल ।

आरसी रिजाल विसं २००९ साल चैत्र ११ गते मकवानपुरमा तोयनाथ रिजाल र णकुमारी रिजालको सुपुत्रको रुपमा जन्मिनुभएको हो । २०२८ सालदेखि लेखनारम्भ गर्नुभएको उहाँको पहिचान व्यङ्ग्य लेखकको रुपमा रहेको छ । उहाँको पहिलो व्यङ्ग्य निबन्ध ‘कवि बन्ने धुनमा’ थियो भने पहिलो कृति ‘खरानीभित्रको आगो’ २०३६ सालमा प्रकाशित भयो । उहाँको त्यसपश्चात् अन्य कृतिहरू कुकुरको पुच्छर–२०५५, कण्ठलँगौटी–२०५७, हाकिमको खप्पर–२०६३, फु फु फु–२०७० हाँस्यव्यङ्ग्य निबन्ध सङ्ग्रहहरू र भोलारामको आत्मा–२०६६ (हिन्दी उर्दूका हाँस्यव्यङ्ग्य साहित्य अनुवाद) पुस्तकहरू प्रकाशित छन् ।

आरसी रिजाल लेखनका अतिरिक्त साहित्यिक क्षेत्रको उन्नयनका लागि परिचित हुनुहुन्छ । मानिस, जसले साहित्यिक संस्थाका लागि निशुल्क जग्गादान गर्ने सायदै भेटिन्छ । आजको समाज धेरै व्यापारिक भइसकेको छ । मानिसहरू फाइदाका पछाडि कुदेका भेटिन्छन् । मानिसले मानिसलाई मानिस कम र वस्तु बढी देख्न थालेको छ । उपभोग गर्न मिल्ने अवस्थामा सम्बन्धहरू विस्तार हुने र जब उपादेयता सकिन्छ, सम्बन्ध नष्ट बन्ने यान्त्रिक समयमा उहाँले साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको भवन निर्माणार्थ हेटौंडामा आफ्नै आँगन साँघुरो बनाएर ४ धुर जग्गा प्रदान गर्नुभयो । हाल सो स्थलमा दुई तल्ले भवन सभाहल प्रयोजनका लागि प्रयोगमा आइरहेको छ । दोस्रो तलालाई पूर्ण निर्माणको चरणमा पुर्‍याउने प्रयत्न भइरहेको छ ।

यस अतिरिक्त नेपाली साहित्यका मानक सर्जकहरू भैरव अर्याल, भानुभक्त, पारिजात, लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालको सालिक हेटौंडा वरिपरि स्थापना गर्नका लागि अग्रणी भूमिकामा पनि रहनु भयो । अक्षय अक्षर साहित्यिक त्रैमासिक, २०६१ सालदेखि हालसम्म निरन्तर प्रकाशन गरिरहनु भएको छ । राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्तरका थुप्रै पुरस्कार–सम्मान उहाँले प्राप्त गर्नुभएको छ । ती सबै त छँदै छन्, त्यो भन्दा ठूलो पुरस्कार उहाँको कर्मको प्रकाश देशैभरि फैलिएको छ, त्यो नै हो भन्ने लाग्छ ।

पछिल्लो समय बुढ्यौली साहित्य लेखन र लेखन वातावरण निर्माण यत्नमा हुनुहुन्छ । सोही किसिमका साहित्य प्रवद्र्धन गर्न सघाउ पुगोस् भन्ने हेतुले केही समय अघिमात्रै व्यङ्ग्य लेखक चट्याङ मास्टरले उहाँलाई एक लाख हस्तान्तरण गर्ने जानकारी गराउनु भएको छ । प्रविधिले आजको समाजलाई बाँध्दै ल्याएको छ । अब यसबाट टाढिएर रहन सक्ने सम्भावनामा कोही छैनन् । रिजाल पनि सामाजिक सञ्जालमा मध्यम र लघुकदका व्यङ्ग्य रचना प्रस्तुत गर्दै आइरहनु भएको छ । महत्तम विषयलाई हाँस्यव्यङ्ग्य मार्फत सम्बोधन गरिरहनु भएको छ । केही व्यङ्ग्यका टुक्राहरू समेट्ने प्रयत्न यहाँ गरिएको छ ।

(जुनसुकै क्षेत्रमा पनि ‘वरिष्ठ’ भन्ने शब्दको खिल्ली उडाएको सुनिन्छ र देखिन्छ । साहित्यिक क्षेत्र पनि यसबाट अछुतो रहेन । वास्तविक अर्थ के हो भनी जान्न शब्दकोष पल्टाएँ, जसमा, ‘सबैभन्दा उम्दा, सर्वोत्तम, श्रेष्ठतम्, अती ठूलो, उच्चकोटीका’ भनी उल्लेख गरेको पाएँ । ‘वरिष्ठ’ शब्दको झापड यदाकदा मैले पनि पाउँछु । जसको ओज मैले थेग्न नसक्ने बोझझैं भान हुन्छ । अनि भित्रभित्रै लाज्जित हुन्छु ।
(यति चाहिँ ठोकुवा गर्न सकिन्छ, कृष्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनु भन्दा अघि स्वस्थानी लेखिएको हुनपर्छ । नत्र सतीदेवीको लास काँधमा बोकेर भौंतारिएका महादेव युरोप, अमेरिका पनि पुग्थे । किन हिमालयको छेउछाउ अर्थात भारत वर्षमा मात्र भौंतारिए । कुरो प्रष्ट छ, स्वस्थानीका रचयितालाई जति स्थानको ज्ञान थियो उति स्थानमा महादेवलाई कुदाए । ऐले स्वस्थानी रच्नु पर्ने भए महादेवलाई अन्टार्टिकासम्म पुर्‍याउँथे होलान् । कयौं देशमा सतीदेवीको कुहिएको अङ्ग खसालेर पवित्र तुल्याउँथे । शाली नदिको स्थान मिसेसिपी मिस्यौरीले पाउँथिन् होला । यस्तो भएको भए त्यहाँ स्नान गर्न जाँदा नेपाली भक्तालुले ठूलो विदेशी मुद्रा खर्चिनु पथ्र्याे ।

(ऋणको बोझको चिन्ताले बुढा बितेको नौं महिनामै सीयारामकी आमाको निधन भयो । छोराहरुलाई गाउँलेले, ‘जमिन त गिरबी (धरौटी) राखेर बाबुको श्राद्ध कर्म गर्यौ । अब आमाको कसरी गर्छौ ?’ भन्न लागे ।)

(उनले मलिनो अनुहारमा, ‘मेरा ७५ वर्षे पिताजी पनि ओछ्यान परेका एक महिना भयो । मलाई नै नचिन्ने भैसक्नु भो । दैवको लिला, मनुस्य चोला, कुनबेला के होला ? ठिगानै हुँदैन । मृत्यु वरणको, पहिलो चरणमा चाहिने कात्रो स्मरण गराउनु भएकोमा तपाईंलाई साधुवाद । पर्सी अफिस आउँदा मलाई पनि आठ मिटर कात्रो ल्याइदिनुस् हद्दै भने । म त छाँगाबाट झरेझैं भएँ ।)

यसरी सुन्दर र ओजपूर्ण व्यङ्ग्यहरू लेखिरहनुभएका आरसी रिजाललाई थप सिर्जनशील भइरहन आग्रहका साथ लेखन तथा साहित्यिक उन्नयनमा क्रियाशील रहिरहनु हुन शुभकामना पनि । उहाँका थप कृतिहरू पाठकमाझ आइपुग्ने शुभेच्छा पनि एउटा पाठक र शुभेच्छुकका तर्फबाट ।