साधारणसभाको पहिलो दिन आज सदस्यहरुलाई उपस्थिति गराइँदै ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आजदेखि सुरु भएको छ । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेका कारण सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी निर्देशनको परिधिभित्र रही साधारणसभाको आयोजना गरिएको सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

सहकारी विभागले महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७ जारी गरेको छ । आजबाट सुरु भएको साधारणसभा कात्तिक १ गतेसम्म चल्ने सहकारीका शिक्षा समिति संयोजक गोपी रमण प्याकुरेलले जानकारी दिनुभएको छ । संस्थाको शेयर सदस्यहरुलाई भौतिक दूरी कायम गरी बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र संस्थाको सभाहलमा उपस्थिति जनाउने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ । साधारण सभा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिएको छ । मास्क, सेनिटाइजर, हेल्प डेस्क र अन्य परामर्शको व्यवस्था समेत मिलाइएको छ ।