हेटौंडा : नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) जिल्ला कमिटी मकवानपुरको आठौं अधिवेशन हुने भएको छ । बुधबार क्यूपेक मकवानपुरका अध्यक्ष प्रल्हाद राईले पत्रकार सम्मेलनमार्फत फागुन २ गते शुक्रबार हुने अधिवेशनको बारेमा जानकारी गराउनुभएको हो ।
हेटौँंडा–५ स्थित पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा हुने कार्यक्रमको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले गर्नुहुने अध्यक्ष राईले बताउनुभयो । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । श्रमिकको मर्यादित कामको निमित्त असल जीवन जिउन पुग्ने ज्याला, कामको निरन्तरता (ग्यारेन्टी), श्रमिक परिवारको वर्तमान अवस्था र अवकाश पछिको जीवनको सुरक्षाको व्यवस्थापन राज्यले गर्नुपर्छ भन्ने मान्यताका साथ कार्यक्षेत्रमा खट्दै आएको उहाँले बताउनुभयो ।
आफूहरुको संघर्षबाट संघीय संसदबाट पास भई नेपाल सरकारले जारी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम एउटा महत्वपूर्ण उपलब्धि भए तापनि स्थानीय सरकारले सो विषयलाई बुझ्न नसकेको उहाँले बताउनुभयो । सो विषयलाई बुझ्न नचाहँदा आम अनौपचारिक क्षेत्रका श्रमिकहरु मर्कामा परिरहेकाले यो विषयलाई मुख्य मुद्दाका रुपमा उठाउँदै आएको उहाँले बताउनुभयो ।
क्यूपेक मकवानपुरका सचिव बुद्धबहादुर विश्वकर्माले मकवानपुर जिल्लामा श्रमिकको भेटघाटका लागि उचित स्थल नभएको बताउनुभएको छ । उहाँले मजदुर वर्गका लागि दुर्घटना हुँदा औषधि उपचारको व्यवस्था नभएको, काम गर्दा ज्याला नपाउने अवस्थालाई पनि आफूले मूल्याङ्कन गरेको धारणा राख्नुभएको छ ।