हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त हुनुभएका डा. ज्ञवाली पाल्पाका हुनुहुन्छ । उहाँलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।

गत साउन १५ गतेदेखि रिक्त उपकुपति पदमा प्रदेश सरकारले २ महिनापछि डा. ज्ञवालीलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजीमा मास्टर्स गरेका डा. ज्ञवाली महाराजगञ्ज मेडिकल क्याम्पस एशोसियट प्रोफेसर हुनुहुन्छ । टिचिङ अस्पताल अन्तर्गतको सो क्याम्पसको अनुसन्धान शाखाको प्रमुख समेत हुनुहुन्छ । उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिव समेत भएर काम गरिसक्नुभएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरि बहादुर खड्का र डा. सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो ।