मंगलबार साँझ सिस्नेरी गाउँपालिकालाई सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडाः लायन्स क्लबले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा बाढी पहिरोपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । मंगलबारसाँझ ईन्द्रसरोवर गाउँपालिका पुगेर लायन्स क्लबका पदाधिकारीहरुले गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा लामालाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।

स्थानीय प्रशासनको आव्हानमा लायन्स क्लब इन्टरनेशनल र स्थानीय लायन्स क्लबहरुको सहयोगमा करिब ४ लाख रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लबले ६५ परिवारका लागि खाद्यान्नसहित म्याट र त्रिपाल सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी गभर्नर टासी डोल्मा तुम्बाहाङफेको नेतृत्वमा एक टोली सिस्नेरी गएको हो । हेटौँडाबाट ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानीखोलासम्म मात्रै गाडी जान सक्ने अवस्था रहेकोले सिस्नेरीतर्फबाट सहयोग सामग्री लिनका लागि सीमानासम्म बोलाएर सहयोग सामग्री हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका जनसम्पर्क अधिकारी जेपी यादवले जानकारी दिनुभएको छ ।

लायन्सले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ थान त्रिपाल, तेल २ लिटर, साबुन २ थान, बिस्कुट २ प्याकेट, केराउ २ केजी, नुन १ केजी र सोयाविन १ केजी उपलब्ध गराएको हो । स्थानीय प्रशासनले बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता रहेको जानकारी प्राप्त भएपछि लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषबाट २ लाख रुपैयाँसहित स्थानीय क्लबहरुबाट सहयोग संकलन गरिएको यादवको भनाइ छ । छोटो अवधिमा तत्कालै सहयोग संकलन गरेर वितरण गरिन लागेको र आगामी दिनमा पनि लायन्स क्लबले आफ्नो सञ्जालको प्रयोग गरेर थप सहयोगको कार्य गरिने स्पष्ट पार्नुभएको छ ।

गत बिहिबारदेखिको निरन्तरको झरी र भारी वर्षाले शुक्रबार रातीदेखि सिस्नेरी बजारको २५ भन्दा बढी घर बगाएर बगरमा परिणत भएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फर्पिङ सडक खण्डमा पनि ठूलो क्षति पुगेको छ ।