शिविरमा स्वास्थ्यजाँच गरिँदै ।

हेटौँडाः श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल हेटौँडा उपमहानगरपालिका–६, गौरीटारको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ । युवा परिषद्ले कृष्ण जन्माष्टमीको अवसरमा भदौ ४ गते मंगलबारदेखि १० गते सोमबारसम्म विविध कार्यक्रमको आयोजना गर्र्दै साताव्यापीरुपमा कृष्ण प्राकट्य उत्सव २०८१ मनाएको हो ।

परिषद्ले पहिलो दिन गत मंगलबार हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन आश्रममा खाद्यान्न वितरण गरेको परिषद्का अध्यक्ष प्रदीप बास्तोलाले जानकारी दिनुभयो । दोस्रो दिन बुधबार परिषद्ले विभिन्न व्यानर टाँसेर मुलमिलावा धामको प्रचार गरेको थियो । तेस्रो दिन बिहिबार हेटौँडा–६, गौरीटारस्थित प्रणामीचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । हेटौँडा–६, गौरीटारस्थित प्रणामीचोकमा भएको कार्यक्रममा ३ जना महिला र २६ जना पुरुषले रक्तदान गरेका थिए ।

यस्तै, चौथो दिन शुक्रबार मुलमिलावा धाममा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा बालजागृति इङ्गलिस सेकेण्डरी स्कूलकी देविना सञ्जेल प्रथम हुनुभएको थियो । प्रतियोगितामा सहभागी १४ जना प्रतियोगीमध्ये हेटौंडा–७ स्थित तासिर इङ्गलिस सेकेण्डरी बोर्डिङकी सिमोन भट्टराई द्वितीय हुनुभएको थियो भने हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालयकी युना महत तृतीय हुनुभएको थियो ।

परिषद्ले छैठौं दिन शनिबार गौरीटार मुलमिलावा धाममा स्वास्थ्य शिविर र स्लो बाइक रेसको आयोजना गरेको थियो । हेटौंडा उपमहानगरपालिका–६ गौरीटार स्थित मुलमिलावा धाममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य शिविरमा सेवाग्राहीहरुको सामान्य जाँच गरिएको थियो । शिविरमा उच्च रक्तचाप, मधुमेह, पिसाब जाँच, मुटु सम्बन्धी, रक्तजाँच लगायतको जाँच गरिएको थियो । परिषद्ले शिविरमा निःशुल्क औषधी पनि वितरण गरेको बास्तोलाले बताउनुभयो ।

शनिबार नै हेटौँडा–६ को प्रणामी चोकमा भएको स्लो बाइक रेसमा मिलन पाख्रिन प्रथम हुनु भएको थियो । स्लो बाइक रेस एक सय मिटरको दुरीमा भएको थियो । प्रतियोगितामा एलिस तिमल्सिना दोस्रो र सुस्मिता चौलागाई तेस्रो हुनु भएको छ । आईतबार परिषद्ले मन्दिर सरसफाई कार्यक्रमको आयोजना गरेको थियो । अन्तिम दिन सोमबार परिषद्ले भव्य रुपले जन्माष्टमी मनाएको छ । परिषद्ले सोमबार बिहान हेटौंडा–६ को गौरीटार प्राणनाथ पार्कमा एक सय १७ वटा विरुवा रोपण गरेको थियो । युवा परिषद्ले वातावरण संरक्षणमा धार्मिक संघ संस्थाको भूमिका भन्ने मूल नाराका साथ वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो ।

बास्तोलाका अनुसार पार्कमा बेल, धुपी, अशोक, तेजपत्ता र श्रीखण्ड गरी ५ प्रजातिका विरुवा रोपिएको छ । यस्तै परिषद्ले मुलमिलावा धाममा १५ हजार बराबरको माइक ड्यास हस्तान्तरण गरेको बास्तोलाले बताउनुभयो । परिषद्ले सोमबार मट्का फुटाई तथा नाचगानको कार्यक्रम आयोजना गर्दै साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।