हेटौँडाः जिल्ला प्रशासन कार्यालय (जिप्रका) मकवानपुरले शनिबार बाहेकका कतिपय सार्वजनिक विदामा पनि सेवा प्रवाह गर्दै आएको छ । तर, सार्वजनिक विदाका दिन सेवा लिन आउने सेवाग्राहीको उपस्थिति भने न्यून हुने गरेको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक विदा थियो । तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सेवा प्रवाहको कार्य भने चलिरहेको थियो । सोमबार जिप्रका मकवानपुरमा सेवाग्राही न्यून थिए ।
नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयलगायत अन्य केही सरकारी कार्यालयहरुमा सार्वजनिक विदामा पनि सेवा प्रवाह हुन्छ भन्ने जानकारी नभएकै कारण सेवाग्राहीको उपस्थिति न्यून भएको हुनसक्ने अनुमान गरिएको छ । सोमबार जिप्रका मकवानपुर खुलै थियो, कर्मचारीहरु सेवा दिनका लागि बसिरहेका थिए । सेवाग्राही भने अन्य दिनको तुलनामा निकै कम थिए ।
करिब डेढ वर्ष अगाडिदेखि सरकारले राजपत्रमा नै उल्लेख गरेर सार्वजनिक विदामा अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरु खुला रहने निर्णय गरिसकेको छ । सोमबार नागरिकता फाँटमा नयाँ नागरिकता बनाउनका लागि कोही उपस्थित भएनन् । फाँटका नायव सुब्बा गणेश नेपालीका अनुसार सोमबार नागरिकता प्रतिलिपि लिन र नागरिकता रद्द गर्न एक–एक जना सेवाग्राहीमात्र आएका छन् । सार्वजनिक विदाबाहेकका दिनमा दैनिक १० जनाभन्दा बढीले नयाँ नागरिकता लिने गरेको उहाँले बताउनुभयो ।
राहदानी शाखामा ७ जनाले मात्र राहदानी बनाउनका लागि फोटो खिचाए भने ५ जनाले मात्र आफ्नो राहदानी लिए । उक्त शाखाका नायव सुब्बा विनोद अर्यालका अनुसार अरुबेला दैनिक १ सयभन्दा बढीको संख्यामा राहदानीका फोटो खिचाउने र ८० देखि ९० जना राहदानी लिन आउने गरेका थिए ।
राष्ट्रिय परिचयपत्रका लागि ५२ जनाले फोटो खिचाएका छन् भने २ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिएका छन् । राष्ट्रिय परिचयपत्र फाँटकी यशोदा मैनालीका अनुसार अन्य दिनमा दैनिक २ सय जनाको हाराहारीमा सेवाग्राहीहरु फोटो खिचाउनका लागि आउने गर्दथे ।