आफ्नै बुहारीको हत्या अभियोगमा ससुरा, सासु र २ जना नन्दलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरेको छ । उनीहरुले नियोजित रुपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । असार २ गते बन्द भान्छा कोठामा विभत्स तरिकाले मृत भेटिएकी सुस्मिता थापाको आफ्नै परिवारका सदस्यहरुबाट हत्या भएको दावी प्रहरीको छ । छोराको मृत्यु भएपछि एकल बुहारीलाई परिवारका सदस्यहरुले मानसिक तथा शारीरिक यातना दिने गरेको र अन्तिममा हत्या भएको छ । काम गरेको कार्यालयबाट प्राप्त हुने सुविधा वापतको रकममा झगडा हुँदा हत्या समेत भएको देखिन्छ । मानिसको ज्यान भन्दा पनि धनलाई प्राथमिकता दिने मानवीय प्रवृत्तीले यस्ता घटनाहरु समाजमा भईरहेका हुन्छन् । समाजको विकृत मनस्थितिका रुपमा घटनाहरु हुँदै आएका छन् ।

कुनै एउटा अपराधको पछाडि अनेकौं कारणहरु लुकेका हुन्छन् । बढ्दो गरिबी, बेरोजगारी, मादक पदार्थ तथा लागु पदार्थको सेवन, जातीयता, रिस, आक्रोश जस्ता विषयहरुले प्रधानता पाएको हुन्छ । लोभ, चाँडै धन, सम्पति कमाउने चाहना, बदलाको भावनाबाट प्रेरित हुने गरेका पाईन्छ । हेटौंडाको कर्रामा भएको घटना चाहिँ सम्पतिकै कारण देखिन्छ । प्रहरीको अनुसन्धानले लैगिक हिंसा पनि घटनाको कारण बनेको छ । बुहारी माथि ससुराले प्रयास गरेको यौन दुव्र्यवहारको पोल खुल्दा सामाजिक मर्यादा जाने भयले हत्या भएको हुन सक्छ । तर घटना भएपछि न धन काम लाग्यो, न इज्जत नै बाँकी रह्यो थापा परिवारको । तर, आवेशमा मानिसहरुले भविष्य विसँर्दा हत्याका घटना भएको पाईन्छ ।

आपराधिक मनसायबाट प्रेरित भई विचार शुन्य अवस्थामा मानिसले गर्ने खराब काम पक्कै पनि अपराध कर्म हो । विश्वमा कानून नै बनाएर गर्न हुने र नहुने कामको वर्गीकरण गरिएको हुन्छ । अझ मानवताका नाताले त अपराध गर्न नै हुँदैन । त्यस्तै धर्मको दृष्टिकोणले पाप कर्म गर्नु हुँदैन भन्ने जोसुकैलाई पनि थाहा हुन्छ तर घटनाहरु भई रहन्छन् । रिसको झोँकमा मानिसले वेद पढ्दैन भन्ने उखानलाई चरितार्थ हुने गरी घटनाहरु हुदै आएका छन् । धेरै कारणहरु मध्ये अपराधका लागि आर्थिक कारण प्रवल हुने गरेको छ । सम्पतीप्रतिको मोहले मानिसलाई अपराधी बनाईरहेको हुन्छ । विश्वमै भएका हत्याका घटनामा धेरैजसो आर्थिक कारणबाट हुने गरेको पाईन्छ । त्यसपछि मात्र राजनीति, सामाजिक, प्रतिशोध लगायतका पक्षहरु पर्दछन् ।

गरिबी, वेरोजगारी जस्ता कारणले अर्थ व्यवस्था कमजोर भएका परिवारमा झगडा हुने गर्दछ । तर सम्पन्न परिवारमा झगडा मात्र हैन कि अपराध नै हुने गर्दछन् भन्ने उदाहरण हेटौंडा कर्राका थापा परिवारले पुष्टि गरेको छ । प्रसस्त आम्दानीका श्रोत भएको र जायजेथा पनि मनग्य हुँदा हुँदै रुपैयाँ पैसाकै लागि बुहारीको हत्या गरेका छन् । थापा परिवारलाई छोराको मृत्यु भएपछि उसले पाउने क्षतिपूर्ति वापतको रकममा र्‍याल चुहाउनु पर्ने थिए । तर धन सम्पतिले मानिसलाई अन्धो नै बनाउँदछ । क्षतिपूर्ति वापत कुनै रकम नआउने भएको भए बुहारीले ज्यान नजान पनि सक्ने थियो । अपराध भइसकेको छ अपराधीलाई कानून अनुसारको कारवाही हुनै पर्दछ । यस्ता घटनाहरुमा विभिन्न चलखेल हुने गरेका उदाहरण पनि धेरै छन् । त्यसैले आवश्यक खबरदारी गर्नु पनि आवश्यक छ ।