नेपालको वन जंगलमा वर्षेनि डढेलो लाग्ने गरेको छ । फागुन, चैतबाट सुख्खा तथा गर्मी मौसम सुरु हुने भएकाले यस समय वर्षेनि वन जंगलमा डढेलो लाग्ने गर्छ । डढेलोको उच्च जोखिमयुक्त देशमध्ये नेपाल पनि अग्रस्थानमै पर्दछ । भौगोलिक विषमता र प्राविधिक पछौटेपनका कारण नेपालमा डढेलो नियन्त्रण प्रभावकारी हुने गरेको छैन । डढेलोको कारण वन जंगलका बहुमूल्य बोट विरुवा नष्ट हुनेमात्र होइन, दुर्लभ पशुपन्क्षीसमेत नाश हुन्छन् । डढेलोले सबै प्रकारको वन सम्पदा विनाश गर्नुका साथै अन्यत्र आगलागीको जोखिम पनि बढाउने गरेको छ । नेपालका तराई, चुरे क्षेत्र, भित्री मधेश तथा पहाडका वन जंगलमा लाग्ने डढेलोको कारण मानिसको घर–गोठमा समेत आगो सल्किएर थप धन–जनको क्षति हुने गरेको छ । वनमा डढेलो लाग्दा त्यसबाट निस्किएको धुवाँले वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरेको छ । डढेलोका कारण हुने वायु प्रदूषण र त्यसबाट हुने असर पनि उत्तिकै जटिल समस्या बनिरहेको छ ।
डिभिजन वन कार्यालयले डढेलोबाट हुने जोखिम न्यूनीकरणका लागि करिब एक महिनाअघि सरोकारवालासँंग बैठक राखेर डढेलोको उच्च जोखिम देखिएका सामुदायिक वनमा अग्निरेखा बनाउने निर्णय गरेको छ । वन क्षेत्रमा अग्निरेखा (खाडल) बनाएर डढेलो फैलन रोक्ने परम्परागत उपायबाहेक अन्य प्रभावकारी उपायतिर ध्यान जान सकेको छैन । डढेलोको सम्भावित जोखिम र त्यसबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सामुदायिक वनमा अग्निरेखा बनाउने गरिएको छ । डढेलोको जोखिम बढी हुने फागुनदेखि जेठसम्म ४ महिनाका लागि सामुदायिक वनहरुमा डिभिजन वन कार्यालय हेटौंडाले सिमित संख्यामा अग्निनियन्त्रण टोली खटाएको भनेको छ । कार्यालयले अग्निनियन्त्रण सामग्री खरिद गर्नुका साथै सामुदायिक वन उपभोक्ता समूहलाई पनि खरिद गर्न लगाएको छ । आगामी चैत १ गतेदेखि ७ गतेसम्म साताव्यापी डढेलो सचेतना कार्यक्रम हुनेछ । आगलागी तथा डढेलो, काठ तथा वन्यजन्तु चोरी तस्करी, उद्दारलगायत डिभिजन वन कार्यालयसँग सम्बन्धित गुनासोका लागि टोलफ्रीमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपालको सन्दर्भमा डढेलो लाग्ने कुनै प्राकृतिक कारण छैन । तर, गर्मी महिनाको सुरुवातसँगै नेपालका वन जंगलका विरुवाका पात झर्दछन् । चर्को घामका कारण झरेका पात सुक्छन् । गर्मी समयमा हावाहुरी चल्छ, जसले आगोको झिल्काहरु उडाएर लैजान्छ । सानो आगोको झिल्कोले पनि जंगलका सुकेका पात सल्किएर डढेलो लाग्दछ । जंगलमा जताततै सुकेका पात हुने भएकाले डढेलो चारैतिर फैलन्छ । धेरैजसो डढेलो भने मानवीय लापरबाहीले लाग्ने गरेको छ । नयाँ घाँस पलाउँछ भनेर डढेलो लगाउने परिपाटी छ । उसो त काठ, दाउरा र वन्यजन्तु तस्करले पनि डढेलो लगाउने गर्दछन् । कुनै सामुदायिक वनका पदाधिकारीसँगको रिसइवी साँध्न पनि डढेलो लगाइन्छ । रमाइलोका लागि डढेलो लगाउनेहरुको पनि कमी छैन । वन छेउका खेतबारीमा झारपात डढाउँदा, जंगल नजिकैका घरमा बालेको र वनभोज खान बालेको आगो राम्रोसँग ननिभाउँदा डढेलो लाग्ने गरेको पाइन्छ ।
यस वर्ष हिउँदमा राम्रोसँग पानी नपरेका कारण चाँडै सुख्खा र खडेरी सुरु भएको छ । गत वर्षभन्दा यस वर्ष पानी कम परेकाले डढेलोको जोखिम उच्च रहेको डिभिजन वन कार्यालयका हेटौंडाका वन अधिकृतको भनाइ छ । पर्याप्त वन क्षेत्र भएको मकवानपुरमा डढेलोको समस्या वर्षेनि देखिने गरेको छ । डढेलो तथा आगलागीबाट हुने जनधनको क्षति, जैविक विविधतामा ल्याउने ह्रास तथा वातावरण प्रदूषणको समस्याबाट बच्न सरोकारवालाहरु बढी सचेत हुनुपर्छ । वन जंगलमा डढेलो फैलिएपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्नै नदिने उपायतर्फ ध्यान दिनु आवश्यक छ । डढेलोको उच्च जोखिम क्षेत्र पहिचान गरी डढेलो लाग्न नदिन र डढेलोबाट सुरक्षित हुन सचेतना प्रदान गर्नुपर्छ । डढेलो फैलन नदिने प्रभावकारी उपाय अपनाएर जानीजानी डढेलो लगाउने व्यक्ति पहिचान गरी आवश्यक कारवाही गर्न सकेमा डढेलो न्यूनीकरणको सम्भावना हुने देखिन्छ ।