नेपालमा विद्यालय तहको शिक्षा भनेर कक्षा १२ सम्मलाई लिइन्छ । विद्यालय तहको वार्षिक परीक्षाहरु प्रायः चैतदेखि सुरु हुन्छन् । चैतभित्र कक्षा १० सम्मको परीक्षा हुन्छन् भने वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गरिन्छ । कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को परीक्षा सञ्चालन हुने गरेको छ । चैतदेखि सुरु हुने विद्यालय तहको विभिन्न कक्षाको परीक्षाको तयारीका लागि प्रायः फागुनदेखि चटारो हुने गर्दछ । परीक्षाको तयारीमा विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयहरुले विभिन्न तरिकाको प्रयोग गर्दछन् । कक्षा १२ सम्मको परीक्षाहरु विभिन्न निकायले सञ्चालन गर्दछन् । कक्षा ८, १० र १२ को परीक्षा अन्य निकायले सञ्चालन गर्दछन् भने अन्य कक्षाका परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्दछन् । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सम्बन्धित पालिकाले सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन गर्दछन् । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन गर्दछ ।

विद्यमान शिक्षा ऐन तथा पाठ्यक्रम प्रारुपले पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्मको विद्यालय तहको विभिन्न कक्षाको परीक्षा र मूल्यांकनको फरक मापदण्ड निर्धारण गरेको छ । पूर्वप्राथमिक तहको निर्धारित परीक्षा प्रणाली छैन । तर, सबै संस्थागत तथा अधिकांश सामुदायिक विद्यालयले पूर्वप्राथमिक तहमा पनि नर्सरी, एलकेजी, युकेजी कक्षा सञ्चालन गरेर परीक्षा सञ्चालन गर्ने गरेका छन् । कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागू गरेर मूल्यांकनलाई निरन्तर, नियमित तथा कक्षा क्रियाकलापको अङ्गका रुपमा प्रयोगमा ल्याउने व्यवस्था गरेको भए पनि विद्यालयहरुले परीक्षाबाटै विद्यार्थी पास, फेलको मूल्यांकन गर्ने गरेका छन् । कक्षा ४ देखि ८ सम्मका प्रत्येक विषयमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य (वार्षिक परीक्षाको आधारमा) मूल्यांकन गर्ने गरिएको छ । कक्षा ९ देखि १२ सम्म प्रत्येक विषयमा २५ प्रतिशत आन्तरिक मूल्यांकन र ७५ प्रतिशत वार्षिक परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरिएको छ । विद्यालय शिक्षाको सबै तहमा वार्षिक परीक्षा सञ्चालन गर्ने गरेका कारण परीक्षा नजिकिँदै जाँदा परीक्षाको तयारीलाई बढी महत्व दिने गरिएको पाइन्छ ।

यस वर्षको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि देशभर सञ्चालन हुँदैछ । एसईईको नतिजा उत्कृष्ट बनाउन विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीमात्र नभई स्थानीय सरकारले पनि निकै प्रयत्न गर्दै आएको छ । एसईईकै तयारीका लागि कक्षा १० का विद्यार्थीलाई सबैजसो विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेका छन् । न्यूनतम दैनिक ८ देखि अधिकतम १२–१५ घण्टासम्म विद्यार्थीलाई विद्यालयमै राखेर पढाउने गरिएको छ । कतिपय विद्यालयले विद्यार्थीलाई विद्यालयमा आवासीय सुविधासहित परीक्षाको तयारी गराउँदै आएको पाइन्छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १५ का दुई विद्यालयले एसईई दिने विद्यार्थीलाई एकै विद्यालयमा राखेर तयारी गराउन थालेको छ । विद्यार्थीको नतिजा सुधार गर्ने भन्दै ती विद्यालयले विद्यार्थीलाई एसईई तयारी क्याम्पमा राखेर बिहान सबेरैदेखि रातिसम्म पठपाठनमा केन्द्रित गरेका हुन् ।

कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिए पनि कक्षा १० को एसईईलाई परीक्षा र त्यसको नतिजालाई बढी महत्व दिने गरिएको छ । अधिकांश माध्यमिक विद्यालयहरु कक्षा १० सम्म मात्र पठनपाठन हुने र कक्षा १० को परीक्षालाई नै विद्यालयको समग्र शैक्षिक स्तर मापन गर्ने आधारको रुपमा मान्ने गरिएकाले पनि एसईईप्रतिको चासो व्यापक भइरहेको मान्न सकिन्छ । एसईईलाई कक्षा १० उत्तीर्ण गरी कक्षा ११ प्रवेश गर्ने आधारमात्र बनाउनु पर्नेमा सरकारले यसलाई विद्यालय तहकै सबैभन्दा ठूलो परीक्षाको रुपमा लिएको पाइन्छ । कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएकाले कक्षा ८ र १२ को परीक्षालाई मात्र विद्यालयभन्दा फरक निकायले सञ्चालन गर्नु उपयुक्त हुन्छ । हरेक परीक्षाको उत्तिकै महत्व हुने र परीक्षाको तयारी गर्नु गराउनु स्वभाविक भए पनि एसईईलाई अनावश्यक हाउगुजी बनाएर विद्यार्थीमा बोझ थप्नु उचित मान्न सकिँदैन ।