हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा एक कृषक समूहले व्यावसायिक सिस्नु खेतीको सुरुवात गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ सुकौराका ७ जना किसानहरुले सामुहिक रुपमा सिस्नु लगाएका हुन् ।
किसानहरुले बाँझो जग्गामा झाडी फाँडेर सिस्नु लगाएका हुन् । करिब एक विगाहा जमिनमा सिस्नुको गानो रोपी सकिएको छ । वडाले चालु आर्थिक वर्षमा व्यावसायिक सिस्नु खेतीका लागि एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यावसायिक रुपमा सिस्नु खेती गरिएको यो पहिलो हो । किसानहरुले सिस्नुको धुलो विक्रि गर्ने लक्ष्य लिएको बताउनुभयो ।
सुकौराका किसानहरु मानबहादुर मोक्तान, फुलमाया मोक्तान, जित बहादुर गोले, जिल्ला बहादुर थिङ, दुवि माया लो, शुकबहादुर स्याङ्तान र बुद्ध लक्ष्मी थिङको समूहले व्यावसायिक सिस्नु खेती सुरु गरेका हुन् । किसान मानबहादुर मोक्तानले समुहसँग सिस्नु पिस्ने मेसिन पनि किनिसकेको भन्दै उत्पादन हुने सिस्नुका धुलो विक्रि गर्न पनि गाउँपालिकाले सहयोग गर्ने बताएको जानकारी दिनुभयो ।