नवौं विश्व योग दिवस बुधबार मनाइयो । मानवताका लागि योग भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरेर योग दिवस मनाइएको छ । योग दिवसको अवसरमा हेटौंडामा पनि विविध कार्यक्रम भएका छन् । संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र मातहतका सम्बद्ध निकाय÷कार्यालयहरुले विश्वा योग दिवसमा विभिन्न कार्यक्रम गरेका छन् । विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि विश्व योग दिवस मनाउन थालिएको हो । विश्व योग दिवसको सुरुवाती सूत्रधार सदगुरु रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिइन्छ । भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्र संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको थियो ।
झण्डै ५ हजार वर्ष पुरानो मानिने योग प्राचीन कालमा साधु सन्त, ऋषिमुनिहरुबीच सिमित रहेकोमा अहिले विश्वव्यापी बनेको छ । छोटो समयमै योगले पाएको व्यापकता र सफलतालाई अझ बढाउन विश्व योग दिवसले सहयोग गर्ने विश्वास गरिएको छ । सत्ययुगदेखि सुरु भएको योग अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक छ । योगलाई सर्वकालीन, सार्वजनिक र सार्वभौमिक विषय मान्ने गरिएको छ । २१ औं शताब्दीको विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि योगको महत्व र आवश्यकता थप वृद्धि भएको छ । पूर्वीय चिकित्सा विधाको योग अहिले आएर अमेरिका तथा युरोपियन देशहरु सबैमा फैलिइरहेको छ । योग शब्द वेद, उपनिषद् गीता, एवम् पुराणहरुमा व्यापक प्रयोग भएको पाइन्छ । नेपाल प्राचिन तपोभूमि भएकाले यहाँ योगको थप महत्व छ । आत्मदर्शन र समाधीदेखि कर्मक्षेत्रसम्म योगको व्यवहारिक र व्यापक अर्थ लगाउने गरिएको छ ।
योग दर्शनका पिता महर्षि पतञ्जलीले योग शब्दको अर्थ चित्त र वृत्तिको निरोध हो भनेर व्याख्या गरेका छन् । योगको शाब्दिक अर्थ जोड्नु हो । योग एक विशेष क्रिया पनि हो । योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भन्न सकिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ । शारीरिक र मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यताजस्ता योगका अनेकौं आयाम छन् । अहिले विश्वभर ३० करोडभन्दा बढी मानिसले योग अभ्यास गर्ने गरेको तथ्याङ्क छ । विश्व योग दिवस मनाउने प्रस्तावलाई समर्थन गरेका देशहरुले आ–आफ्नो देशमा योगसम्बन्धी नीत निर्माण तथा विभिनन कार्यक्रम गर्नुपर्ने भएकाले भविष्यमा योगले थप व्यापकता पाउने देखिन्छ ।
विगतमा ऋषिमुनि, धार्मिक संघसंस्था, योग गुरुहरुले चलाएका योगका गतिविधिहरु अहिले सजिलै घरघरमा पुगेको छ । सूचना प्रविधिको विकासका कारण सामाजिक सञ्जाल, इन्टनेट, टेलिभिजन लगायतका माध्यमबाट घरमै बसेर योगसम्बन्धी जानकारी पाउने र योगाभ्यास गर्ने अवसर प्राप्त भएको छ । योगलाई बहुउपयोगी शारीरिक अभ्यासको रुपमा पछिल्लो समय प्रयोग गरिएको छ । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोगजस्ता विभिन्न योगको चर्चा हुने गर्दथ्यो भने अहिले ध्यान, विपश्यना, प्राणायाम, योगजस्ता विधिहरुको प्रयोग भइरहेका छन् । योगको माध्यमबाट व्यक्तिलाई शारीरिक र मानसिकरुपमा स्वस्थ हुन मद्दत पुग्ने भएकाले हरेक मानिसले योगको महत्व बुझ्नुपर्छ । मानिसलाई रोग, तनाव तथा कुलतबाट बचाउन योग एउटा प्रभावकारी माध्यम बन्नु आवश्यक छ । विश्व योग दिवसले योगलाई शारीरिक व्यायाममात्र नभई जीवनको आधार, दर्शन अनि यथार्थ हो भन्ने तथ्यको प्रचारप्रसार गराएर योगको महत्व बुझाउन सहयोग गर्नुपर्छ ।