कार्यक्रममा सहभागीहरु ।

(बागमती) मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बुधबार एक सभाको आयोजना गरेर पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मुक्तानले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान गर्न चुनौतिका बीचमा पनि कार्यक्रम सफल गर्न सकेको बताउनुभयो । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कमजोर हुन नहुने उहाँको भनाइ छ । प्रदेश सरकारले अहिले शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले कार्यक्रमको घोषणा भएपनि कार्यान्वयन गर्न चुनौती हुने बताउनुभयो । जनगणनाको तथ्याङ्कलाई मात्र आधार मानेर नहुने र समस्याको खोजी गर्नुपर्ने बताउनुभयो । अभिभावकको समस्या, आर्थिक समस्या र भौगोलिक समस्या के हो भनी सबै कुराको खोजी गरेर समस्याको समाधान गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरमा कमाउने भन्दा पढाउने सोचको विकास गर्नुपर्ने बताउनुभयो । आफ्नो बालबालिकालाई विदेश पठाउने सोच नराखेर पढाउनतर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । हरेक अभिभावकले आफ्नो बालबालिकालाई विद्यालयमा भर्ना गरेपछि बेलाबेलामा विद्यालय पुगेर त्यहाँको अवस्थाबारे जानकार हुनुपर्ने बताउनुभयो । पालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने कुरालाई बजेटमा राखेर थप कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो ।

यस्तै बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले विद्यार्थीहरुलाई मातृभाषालाई माध्यम बनाएर भए पनि शिक्षामा जोड्नुपर्ने बताउनुभयो । शिक्षक र विद्यार्थीलाई उत्प्रेरित गर्न वातावरण तयार गर्नुपर्ने उहाँले बताउनुभयो । पालिकाका शिक्षा अधिकृत प्रमोद राईले अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा नीतिगत व्यवस्थाबारे जानकारी गराउनुभयो । अनिवार्य शिक्षा भन्नाले तोकिएको उमेर समुहका बालबालिकाहरुलाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभुत तहको अध्ययन पुरा गर्ने बाध्यकारी व्यवस्था उहाँले जानकारी गराउनुभयो । सरकारद्वारा निशुल्क शिक्षा भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकहरुबाट कुनै पनि शिर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षा भएको उहाँले बताउनुभयो । कार्यक्रमको उद्देश्य शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभुत मानव अधिकार एवम् संविधानको मौलिक हकलाई व्यवहारमा कार्यन्वयन गर्न, शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवमु गुणस्तरीय बनाउनु रहेको उहाँले बताउनुभयो ।

राज्यले प्रत्येक स्थानीय तहमार्फत ४ वर्ष उमेर पूरा भई १३ वर्ष पूरा नभएका प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म आधारभुत शिक्षा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । यसअघि पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमअन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडकनाटक प्रदर्शन समेत गरिएको थियो । बागमती गाउँपालिकामा ५० सामुदायिक विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत र दोहोरिएर पढ्नेको दर ११ प्रतिशत रहेका छन् । अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रमका संयोजक कमानसिंह पाख्रिनको सभाध्यक्षमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान लगायतको आतिथ्य रहेको थियो ।