पृष्ठभूमि
सन् १९६७ जुन २७ मा उत्तरी लण्डनको बार्कलेज बैंकबाट शुरु भएको पहिलो एटिएम मेसिन र सन् १९८०/९० को दशकमा भएको ईन्टरनेटको आविष्कारसँगै परम्परागत रुपमा मानिसहरुले गरिरहेको बैंकिङ कारोबारलाई चुस्त दुरुस्त तथा प्रभावकारी रुपमा सेवाग्राही माझ लैजानको लागि विभिन्न किसिमका साधनहरुको प्रयोग भइरहेको सर्वविदितै छ । अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा अझ बढी नै प्रविधिले स्थान लिएको कुरामा दुईमत छैन ।
नेपालमा आजभन्दा बीस वर्ष अगाडि चेक भुक्तानी लिन बिहान बैंकमा पुगेर टोकन लिएर दिउँसो रकम निकाल्न पुनः बैकमा जानु पर्ने बाध्यता थियो भने आज आउँदा कुनै पनि बैंकिङ सेवा लिन ग्राहक बैंकमा उपस्थित हुनु नपर्ने अवस्था आइसकेको छ । रकम जम्मा गर्न होस् वा रकम निकाल्न वा कर्जा लिन वा खाता खोल्न सबै कामहरु ईन्टरनेटको सहयोगबाट कुनै खास बालेटको माध्यमले गर्न सकिने व्यवस्था नेपालको बैंकहरुले गरेका छन् । यो सबै कम्प्युटर अनि ईन्टरनेटको विकासले मात्र सम्भव भएको हो भन्न सकिन्छ ।
समाजमा रहेको भ्रष्टाचार घटाउन, अनियमित क्रियाकलापहरु हटाउन, सबैलाई एउटै प्रणालीमा आवद्ध गर्न र स्वस्थ अनि सदाचार समाजको निर्माण गर्नको लागि सबै देशहरुले नगद कारोबार घटाउँदै लैजाने नीति लिईएको कारणले डिजिटल बैंकिङको महत्व दिनानुदिन बढ्दै गएको छ । अझ अहिले कोरोना भाईरसको माहामारीमा विश्व नै फसिरहेको अवस्थामा अझ डिजिटल बैंकिङको महत्व बढेर गएको सर्वविदितै छ । त्यस कारण आजको युग भनेको कुनैपनि क्षेत्रमा डिजिटल युग हो । त्यसलाई हामीले कसरी प्रयोग गर्र्ने र बढी भन्दा बढी लाभ कसरी लिने भन्ने कुरा हामी आफैंमा निर्भर रहेको विषय पनि हो ।
परिचय
परम्परागत बैंकिङ प्रणाली जहाँ सेवाग्राही भौतिक रुपमा उपस्थित भई घण्टौंसम्म लाईनमा बसी चेकको रकम लिन सक्ने वा रकम जम्मा गर्न सक्ने, कागजी प्रक्रियाबाट सबै रेकर्ड राखिने प्रणालीबाट रुपान्तरण हुँदै तपाई हामीले चलाउने डिभाईस मार्फत जस्तै मोवाईल फोन, कम्प्युटर तथा ल्यापटपको प्रयोग गरी ईन्टरनेटको सहायताले घरमै बसी बसी रकमान्तर गर्न, आफुले चाहेको स्थानबाट चाहेको रकम चाहेको समयमा निकाल्न सक्ने अनि आफ्नो खाताको विवरण आफैंबाट प्रिन्ट गर्न सक्ने, घरमै बसेर खाता खोल्न सक्ने रकम जम्मा गर्न सक्ने वा कुनै पनि बैकिड सेवाको लागि बैंकमा भौतिक रुपमा उपस्थित हुन नपर्ने अवस्थाको श्रृजना नै डिजिटल बैंकिङ हो । अर्थात डिजिटल बैंकिङलाई अनलाईन बैंकिङ वा २४ घण्टा बैंकिङ वा भर्चुअल बैंकिङ पनि भन्न सकिन्छ । समयको मागसँगै प्रविधिमा आएको परिवर्तनबाट बैंकिङ क्षेत्रमा आएको परिवर्तन साँच्चिकै मनन् योग्य छ । नेपाल जस्तो देश जहाँ भर्खरै मात्र नेपाल राष्ट्र बैंकको एक सर्भेक्षण अनुसार ६० प्रतिशत जनतामा मात्र बैंकिङ सेवाको पहुँच रहेको छ भने बैंकिङ सेवाहरु प्रबिधिमैत्री कमैमा मात्र छ । धेरै मानिसहरुले हातमा एन्ड्रोइड मोवाईल बोके तापनि बैंकिङ सेवाको प्रयोग उल्लेखनीय रुपमा भएको पाइँदैन । चेक काट्ने र घण्टौसम्म लाईनमा बसेर रकम निकाल्दा आनन्द आउने ग्राहकहरु प्रशस्त भेटिन्छन् । ईन्टरनेटको माध्यमबाट रकम भुक्तानीमा अझ पनि कैयौं ग्राहकहरुले विश्वास गरेको पाईदैन । रु १० लाख वा सो भन्दा कम रकम मात्र बैकबाट नगद भुक्तानी लिन सक्ने विद्यमान व्यवस्थालाई सरकारले कायमै राखी डिजिटल भुक्तानी प्रणाली प्राथमिकतामा राखेकोे सन्दर्भमा कसरी नगद कारोबार घटाउने र डिजिटल कारोबार बढाउने भन्ने विषयमा नेपाल सरकारबाट कार्ड मार्फत बिल भुक्तानी गर्दा लाग्ने करमा १० प्रतिशत छुट दिने व्यवस्थाले समेत डिजिटल बैंकिङलाई उच्च महत्व दिएको पुष्टि हुन्छ ।
अझ वर्तमान अवस्थामा विश्वमा फैलिएको कोरोना माहामारीबाट बच्नको लागि घरमा नै बसी सबै आर्थिक कारोबार गर्नका लागि डिजिटल प्रविधि एकमात्र उपयोगी सिद्ध भएको छ । सबै बैंकहरुले कोरोना माहामारीमा सरकारले लकडाउन गरेकोले कुनै पनि वालेटबाट कारोबार गर्दा कुनै शुल्क नलाग्ने घोषणा गरेका छन् ।
डिजिटल बैंकिङका साधनहरु
१) ए.टि.एमः दैनिक रुपमा एकलाख भन्दा कम रकम भुक्तानी लिनु परेमा एटिएम मेसिनको प्रयोग गर्न सकिन्छ । एक पटकमा बीस हजार रुपैयाँ र बढीमा ५ पटकसम्ममा रु १ लाख रकम झिक्न बैंकसम्म जानु पर्दैन । एटिएम कार्डबाट नेपाल तथा भारतमा समेत सजिलै कारोबार गर्न सकिन्छ । एटिएम कार्डको प्रयोगले कुनै पनि सामान खरिद गर्न वा सेवा लिन र त्यसको भुक्तानी नेपाल तथा भारतमा सजिलै गर्न सकिन्छ । नेपालमा यसको प्रयोग दिनानु दिन बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले अव क्यास डिपोजिट मेसिन (नगद पनि मेसिनबाटै जम्मान गर्न सकिने) को प्रयोगमा जोड दिन थालेको छ । यसबाट हुने कारोबारको सीमा नेपाल राष्ट्र बैंकले समय–समयमा तोके अनुसार परिवर्तन भई रहन्छ ।
२) इन्टरनेट बैंकिङः यो मावाईल वा कम्प्युटर तथा ल्यापटप जुन डिभाईसमा पनि चलाउन सकिन्छ । यसको माध्यमबाट १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म एकपटकमा र दैनिक १० लाखसम्मको बैंकिङ कारोबार र मासिक ३० लाखसम्मको कारोबार गर्ने ग्राहकहरु बैंकसम्म जानु पर्दैन । यो सेवाबाट बैकको स्टेटमेन्ट लिन सकिने, हराएको चेक रोक्का राख्न सक्ने, चेक निकाल्नको लागि बैकलाई अनुरोध गर्न सक्ने, एउटै बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सक्ने जस्ता नियमित कामहरु गर्न सकिन्छ । यो सेवा देश तथा विदेशमा बस्दा समेत सञ्चालन गर्न सकिन्छ । यसबाट हुने कारोबारको सीमा नेपाल राष्ट्र बैंकले समय–समयमा तोके अनुसार परिवर्तन भई रहन्छ ।
३) मोवाईल बैंकिङः ग्राहकको एन्ड्रोईड मोवाईलमा बैंकबाट तोकिएको कारोबार गर्नको लागि प्लेस्टोरमा गई जुन बैंकमा खाता छ सोही बैंकको स्मार्ट बैंकिङ नामको एप्स ईन्स्टल गर्ने र त्यसलाई एक्टिभ गरेर दैनिक एक लाख रुपैयाँसम्मको भुक्तानी जुनसुकै बैंकको खातामा पठाउन सकिनुको साथै मिनी स्टेटमेन्ट हेर्न तथा प्रिन्ट गर्न, चेकबुक अनुरोध गर्न, मोवाईल रिचार्ज गर्न, बत्ति तथा पानीको रकम भुक्तानी, बीमा तथा स्कुल कलेजको रकम भुक्तानी जस्ता थुप्रै सेवाहरु मोवाईल बैंकिङमा पाईन्छ । तपाईको सम्पूर्ण बैंकिङ सेवा तपाईको हातमा त्यो पनि चौबिसै घण्टा रहने कुराको ग्यारेन्टी मोवाईल बैंकिङले दिएको छ । जुन सजिलै सबैले चलाउन सक्छन् । यसबाट हुने कारोबारको सीमा नेपाल राष्ट्र बैंकले समय–समयमा तोके अनुसार परिवर्तन भई रहन्छ ।
४) पीओएस मेसिन र क्युआर कोडः अहिले कुनै पनि रकम भुक्तानी गर्नको लागि कतिपय स्थानमा पीओएस (पोइन्ट अफ सेल टर्मिनल) मेसिन राखिएको हुन्छ जसमा तपाईको चिप्स जडित एटिएम कार्डको माध्यमबाट रकम भुक्तानी गर्न सकिन्छ । नेपालमा दैनिक रु १ लाखसम्मको र भारतमा भारतीय रुपैयाँ ६२ हजार पाँच सयसम्मको सामान खरिद गर्दा यो मेसिनको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । यस्तो मेसिन पसल, रेष्टुरेन्ट, होटेलहरुमा व्यापक रुपमा प्रयोग भएको पाईन्छ । आजभोली यो मेसिनसँगै क्युआर कोडको प्रचनल बढ्न थालेको छ । क्युआर कोड भनेको तपाईको मोबाईल डिभाइसमा रहेको क्यामराले मात्र पढ्नसक्ने कोड हो जसलाई क्विक रेस्पोन्स कोड पनि भनिन्छ । तपाईको हातमा रहेको मोबाईलको क्यामेराको सहयोगले कुनै पनि स्थानका रहेको क्युआर कोडलाई स्क्यान गर्दा पढ्छ र त्यसको डाटा तपाईको मोवाईलमा देखाउँछ र त्यसबाट तपाईले सजिलै भुक्तानी गर्न सक्नु हुन्छ जुन पीओएस भन्दा धेरै राम्रो र सुरक्षित पनि मानिन्छ । आजभोजि जोसँग पनि मोवाईल हुने भएकोले यो सेवा जहाँसुकै पनि सजिलै लिन सकिन्छ ।
५) बैंकको वेभसाईटहरुः नेपालका बैंकहरुले आफ्नो सेवा सुविधाहरु आफ्नो वेभसाईटमा राख्ने गरेको पाईन्छ । यसको सहायताबाट संसारका सबैले बैंकको परिचयदेखि उपलब्ध सेवाहरुको साथै प्रगति प्रतिवेदनहरु, क्यापिटल बनावट लगायत विविध सुचनाहरुमा सबैले सजिलै जानकारी राख्न पाउँदछन् । यसबाट वित्तीय साक्षरताको दर समेत बढाएको पाईन्छ । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिअनुसार अबदेखि बैंकहरुले आफना बेभसाईड नेपाली भाषामा समेत राख्नु पर्ने व्यवस्था गरेको छ ।
६) प्रिपेड अनि क्रेडिट कार्डहरुः यस प्रकारको कार्डको माध्यामबाट ग्राहकले कुनै पनि बैंकबाट प्रिपेड कार्ड लिएर देश तथा विदेशमा गएर सामान खरिद गर्न सक्छन् र उक्त कार्ड मार्फत रकम भुक्तानीको सीमा तोकिएको हुन्छ भने रकम जम्मा गर्ने दिनको सीमाको साथै व्याजदर समेत तोकिएको हुन्छ । यस प्रकारको कार्ड जारी गरेर कारोबार गर्दा व्याजदर सामान्यतया बढी हुन्छ ।
फाईदाहरुः
कोरोना भाईरसको माहामारी नआउन्जेलसम्म प्रत्येक ग्राहकलाई यो सुविधाको बारेमा बुझाउन निकै समय लाग्दथ्यो भने आज समय र परिस्थितीले यो प्रबिधिलाई अनिवार्य जस्तो बनाई दिएको छ । अहिले संसारका जति पनि देशमा लकडाउन भएको छ सम्पुर्ण कारोबार डिजिटल बैंकिङबाट भइरहेको छ । यस्तो संवेदनशील अवस्थामा पनि बैंकिङ कारोबार संचालनमा रहेको छ । नेपालको बैंकिङ कारोबार पूर्णतया प्रबिधिमैत्री नभए तापनि बिस्तारै यसको महत्व बुझ्दै जाने कुरामा दुईमत रहँदैन । सो यसको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१) जहाँ सुकै जहिले पनि बैंकिङ सेवाको पहुँच सबैमा हुने ।
२) कुनै पनि बैंकिङ सुबिधाको लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भएर सेवाको पर्खाईमा बस्नु नपर्ने भएकोले समयको बचत हुने ।
३) नगद कारोबारमा हुने अत्याधिक जोखिमलाई डिजिटल बैंकिङको माध्यमबाट कम गर्न सकिने ।
४) खर्च कम हुनुको साथै सरल र सबैले प्रयोगमा ल्याउन सक्ने भएकोले रियल टाईम कारोबार गर्न सकिने ।
५) कार्य सम्पादनमा मानवीय त्रुटीको मात्रा घट्ने ।
६) बैंक तथा वित्तीय संस्थाको बजार विस्तारको साथै व्यावसायिक दायरा फराकिलो हुने ।
७) बैंकिड कारोबारमा हुने लागत घट्नुको साथै ग्राहकको पनि खर्च घट्ने ।
८) मोवाईल तथा ईन्टरनेट बैंकिङबाट विभिन्न युटिलिटी भुक्तानी (जस्तै बिजुली, खानेपानी, कलेज फि, बिमा शुल्क लगायत सम्पुर्ण भुक्तानीहरु) जुनसुकै समयमा आफनो मावाईलबाट भुक्तानी गर्न सकिने भएकोले ग्राहकको समयको बचत हुनुको साथै खर्च समेत घट्न जाने ।
९) आफुले हस्ताक्षर गरेको चेक हराएमा वा चेक बुक चाहिएमा वा कसैलाई कुनै पनि बैंक तथा बित्तीय संस्थामा रहेको खातामा रकम पठाउन परेमा वा आफु बिदेशमा रहँदा कुनै कर्जाको किस्ता भुक्तानी गर्नु परेमा वा आफ्नो बैंक व्यालेन्स देश–विदेशबाट हेर्नु परेमा उपयोगी हुने ।
१०) डिजिटल कारोबारबाट नगद कम परिचालन हुने भएकोले भ्रष्टाचार क्रमशः घटेर जाने ।
नेपाल सरकारले समेत नगद कारोबारको सीमा हाल १० लाखसम्म रहेको भए तापनि आगामी केही वर्षमा नगद कारोबार शुन्यमा हुन सक्ने सम्भावना रहेको छ । हालै मात्र कार्ड मार्फत सामान खरिद गर्दा लाग्ने करमा १० प्रतिशत फिर्ता दिने योजना र २०७६ माघ १ गतेबाट लागु गरेको गो बैंक नखुले पनि ईन्टरनेटको रकम तिर्न, अति आवश्यक सामान खरिद गर्न वा अन्य विभिन्न रकम भुक्तानी गर्नको लागि बैकसम्म आउन नपर्ने गर्नको लागि यसको प्रयोगमा जोड दिएको पाउँदछौं । त्यसैले कुनै न कुनै दिन सबै नेपालीले यो प्रविधिलाई पुर्ण रुपमा अंगिकार गर्नुपर्ने दिन आउने निश्चित छ ।
(लेखक कृषि विकास बैंक लिमिटेड हेटौंडाका शाखा प्रबन्धक हुनुहुन्छ ।)