हेटौँडा ः आगामी फागुन २ गते हेटौँडा–१३, पदमपोखरीमा सोनाम ल्होसारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोनाम ल्होसार वृहत साँस्कृतिक मूल समारोह समितिको आयोजनामा हेटौँडा–१३, ठूलोथली गुम्बाडाँडामा कार्यक्रम हुने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत साँस्कृतिक मूल समरोह समितिका संयोजक मदनकुमार बलले कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमका संयोजक बलका अनुसार तामाङ समुदायको संस्कृति, धर्म, संस्कार र परम्परालाई प्रवद्र्धन गर्नका लागि साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । झाँकी, र्याली, बाजागाजासहित स्थानीय कलाकारको प्रस्तुती गर्न लागिएको उहाँले बताउनुभयो । विगतका वर्षदेखि साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको समितिले हेटौंडा–१३ मा पिछडिएको ठाउँलाई अगाडि बढाउँदै तामाङ जातिको वस्ती भएको स्थानको पहिचान गराउने उद्देश्य लिएको उहाँले बताउनुभयो । साँस्कृतिक कार्यक्रममा विभिन्न खाद्यान्न वस्तुहरुको २५ वटा स्टलहरु रहने उहाँले बताउनुभयो ।
५ हजारको हाराहारीमा दर्शकहरुको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ । कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ भने वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ । साँस्कृतिक कार्यक्रम सम्पन्न गर्नका लागि ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । पत्रकार सम्मेलन १३ नम्बरका वडा सदस्य उत्तम गोङ्बा, उपसंयोजक बुद्धि लामा गोले, सदस्य जनक गोले, निरज गुरुङ, पूर्व संयोजक संगीता वाइबा, सदस्य विजय गोलेको उपस्थिति रहेको थियो ।