हेटौँडा ः नेपाल बुद्धिचाल महासंघको आयोजनामा १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा सञ्चालन भइरहेको छ । बुधबार चौथो दिनको खेल चलिरहँदा महिलातर्फको प्रतिस्पर्धामा काठमाडौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गरेका छन् ।
छैटौं चरणको खेल समाप्त हुँदा साबिक विजेता सिन्दिरा जोशीलाई कडा टक्कर प्रस्तुत गरेकी १३ वर्षीया एञ्जलले समान ५ अंकमा रहँदै रोचक अंक तालिका बनाएकी हुन् । सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी सुशीला गुरुङलाई हराउँदै स्कोर बराबर गर्न सफल भइन् ।
प्रतिस्पर्धामा साढे ४ अंक बनाउँदै संयुक्त दोश्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरी र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरका छन् । खेलमा इशाले निहाना श्रेष्ठ र शान्तिले नयुमा मगरलाई पराजित गर्न सफल रहे । झापाकी पुनम प्रसाईं र काठमाडौंकी बिनिता कपाली संयुक्त तेस्रो स्थानमा रहेका छन् । छैटौं चरणको खेलमा बिनितालाई हराएर पुनमले महत्वपूर्ण अंक जोडेकी हुन् ।
पुरुषतर्फको स्पर्धामा एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियनसमेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् । दोश्रो स्थानका लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशीष फुँयाल र काठमाडौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइरहेका छन् । अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छन् । जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् ।
प्रतियोगिताका संयोजक महासंघका महासचिव धरमबहादुर लामो प्रतियोगिताको विजेतालाई काजकिस्तानमा हुने ४६ औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागी गराउने बताउनुभयो । मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।