हेटौँडा ः बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले सहिदहरुको त्यागका कारण व्यवस्था परिवर्तन सम्भव भएको बताउनुभएको छ । उहाँले सहिदहरुको बलिदानको कारण देशमा गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको बताउनुभयो ।
हेटौँडा–११ स्थित सहिद स्मारकमा आयोजित सहिद दिवस २०८१ समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले मानव इतिहासकै अधिकतम स्वतन्त्रताको युगमा नेपाल रहेको बताउनुभयो । विगतमा नपाएको मौलिक र मानव अधिकारको उपयोग वर्तमान व्यवस्थामा गर्न पाएको उहाँको भनाई छ । न्याय, स्वतन्त्रता, अस्तित्व र गौरवका लागि अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदहरुलाई सधैं स्मरण गरिरहनुपर्ने प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । सहिदहरुको त्यागलाई सप्ताह र दिवसमा मात्र सीमित नराखी मुलुकको समृद्धिको बाटोमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र गणतन्त्र स्थापनामा सहिदहरुको ठूलो योगदान रहेको बताउनुभयो । सहिदहरुको सम्मानमा स्मारकको पनि महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले इतिहास झल्काउने पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सहिदहरुको मार्गदर्शनलाई पहिल्याउँदै देश विकासको गतिमा अघि बढ्नु पर्ने बताउनुभयो । सभामुख भुवन कुमार पाठकले १०४ वर्षीय जहानीया राणाशासनको कालो कालखण्डलाई चिर्न र जनतालाई अधिकार सम्पन्न बनाउन सहिदहरुले भूमिका निर्वाह गरेको बताउनुभयो । सहिदहरुको बलिदान कै कारण देशमा प्रजातन्त्र स्थापना गर्न सम्भव भएको उहाँको भनाई छ । सभामुख पाठकले सहिदहरुको बहादुरीकै कारण नेपाल कुनै पनि विदेशी राष्ट्रहरुको अधिनमा रहन नपरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सरकारका मन्त्रीहरु, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्यहरु, कर्मचारी, राजनीतिकर्मी, सुरक्षा निकायका प्रमुखहरु, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । बागमती प्रदेश सरकारको आयोजनामा भएको उक्त कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८१ बाट कवि एवम् साहित्यकार तुलसी घिमिरेलाई सम्मान गरिएको थियो ।
प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस ३ दिनसम्म मनाउने निर्णय अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहिद दिवस मनाउन मुल समारोह आयोजक समिति गठन समेत गरेको थियो । मन्त्रालयले १४, १५ र १६ गते ‘तीन दिन’ विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार प्रदेश सरकारले सरसफाई, निबन्ध प्रतियोगिता, दीपप्रज्वलन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।