व्याकरण जात्रामा सहभागी विद्यार्थीको एक समूह ।

हेटौँडा ः हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविमा कक्षा–४ देखि कक्षा–८ सम्म अध्ययन गर्ने विद्यार्थीले अंग्रेजी व्याकरणको जात्रा प्रस्तुत गरेका छन् । विद्यार्थीकै सहभागितामा गठन गरिएको नवोदय इंग्लिस क्लबको आयोजनामा अंग्रेजी व्याकरणका विभिन्न खण्डलाई फरक–फरक समूहले ९ वटा स्टलमा प्रस्तुत गरेका थिए ।

हरेक स्टलमा ३ देखि ५ जना विद्यार्थीको एउटा समूह सहभागी थिए । व्याकरणको सिकाईलाई सरल तरिकाले प्रस्तुत गर्दै प्रभावकारी सिकाई अभ्यासका लागि व्याकरण जात्राको आयोजना गरिएको नवोदय शिशु सदनले जनाएको छ । मंगलबार विद्यालयको खेलस्थलमा राखिएको स्टलमा विद्यालयका विद्यार्थी र केही अभिभावकले अवलोकन गरेका थिए । अंग्रेजी व्याकरणको जात्रा पहिलो पटक आयोजना गरिएको हो ।

शिक्षकको निर्देशन र सहजीकरणमा विद्यार्थीले एक साताको अवधिमा आआफ्ना प्रस्तुती तयार पारेका थिए । नवोदय इंग्लिस क्लबकी अध्यक्ष कृष्ता चौलागाईले व्याकरणको बुझाई र बुझेका कुरा प्रस्तुतीका लागि व्याकरण जात्रा प्रभावकारी भएको बताउनुभयो । नवोदय इंग्लिस क्लबकी उत्प्रेरक शिक्षक काजल कुमारी मिश्रले क्रियाकलापमा आधारित भएर विद्यार्थीलाई प्रभावकारी सिकाईका लागि व्याकरण जात्राको आयोजना गरिएको बताउनुभयो ।

प्रस्तुतीका आधारमा विद्यालयले अंग्रेजी विषयका विज्ञ शिक्षकहरुबाट मूल्यांकन गरेर पुरस्कृत समेत गरिएको थियो । विज्ञ शिक्षकको मूल्यांकनबाट कक्षा–४ का विद्यार्थीको समूह प्रथम तथा कक्षा ८ को समूहको प्रस्तुती दोस्रो घोषित गरिएको उप्रेरक शिक्षक काजल कुमारी मिश्रले जानकारी दिनुभयो । प्रथम र द्वितीय हुने समूहलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको छ ।