हेटौंडाः कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु भएको छ । हेटौंडा–८ स्थित कमानेमा तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको हो । चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा भएको प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौंडा–८ वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कमाने राइनोजले विजयी सुरुवात गरेको छ । कमाने राइनोजले कमाने राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
कमाने राइडर्सले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो । पहिले ब्याटिङ गरेको राइडर्सले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कमाने राइनोजले ६ ओभरमा २ विकेट गुमाएर कमाने राइडर्सले दिएको लक्ष्य भेट्टायो । दोस्रो खेलमा कमाने बुल्सले जित निकालेको छ । कमाने बुल्सले कमाने रोयल्सलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको कमाने रोयल्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कमाने बुल्सले १ विकेटको क्षतिमा रोयल्सले दिएको लक्ष्य भेट्टाएको थियो ।
बुधबार नै भएको तेस्रो खेलमा कमाने टाइगरले जित निकालेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कमाने हन्टर्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको टाइगरले १ विकेटको क्षतिमा ९ ओभरमा लक्ष्य पूरा गरेको हो । चौथो खेलमा कमाने बुल्सले कमाने राइडर्सलाई ४ विकेटले पराजित गरेको छ भने पाचौँ खेलमा कमाने राइनोजलाई ८८ रनले कमाने रोयल्सले पराजित गरेको छ । अन्तिम तथा छैटौं खेलमा कमाने टाइगरले जित निकालेको छ । कमाने लायन्सलाई ८ विकेटले हराउँदै कमाने टाइगरले जीत निकालेको हो ।
पहिलो खेलको म्यान अफ द म्याच कमाने राइनोजका सुजन चौलागाईं र दोस्रो खेलको म्यान अफ द म्याच कमाने बुल्सका विष्णु राउत घोषित भए । तेस्रो खेलको म्यान अफ द म्याच कमाने टाइगरबाट सञ्जीव थापा भए । पाचौँ र छैटौं खेलको म्यान अफ द म्याच क्रमशः गौरव खड्का र समीर थापा घोषित भए । म्यान अफ द म्याचले एक हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । म्यान अफ द म्याचको पुरस्कार इ प्लानेटका ब्रान्च म्यानेजर सुमनराज भट्टराईले सौजन्य गर्नुभएको छ ।
प्रतियोगिता आयोजनाका लागि ८ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले प्रायोजन गर्नुभएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान र सर्वोकृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ ।
गतवर्ष भएको दोस्रो संस्करणको कमाने टी–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ ।