हेटौँडा ः हेटौँडा–७, नागस्वतीस्थित तासिर इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कूलले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । बुधबार विद्यालय परिसरमा एक समारोहका बीच वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
विद्यालयले २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको प्रिन्सिपल विनोद थपलियाले जानकारी दिनुभएको छ । वार्षिक परीक्षामा सहभागी भएका कक्षा १ देखि कक्षा–९ सम्मका एक हजार ५३ विद्यार्थीमध्ये ४० जनालाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
यस्तै, बोर्डिङले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा सहभागी भएर वर्षको उत्कृष्ट सदन बन्न सफल भएको रातो सदनका विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका पहेँलो सदन, निलो सदन, रातो सदन र हरियो सदनबाट वार्षिक खेलकुद प्रतियोगितामा सहभागी भएका १ हजार २ सयभन्दा बढी विद्यार्थीमध्ये ८ सय जनालाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।
वार्षिक खेलकुदमा फुटबल, भलिबल, तेक्वान्दो, एथ्लेटिक्सलगायत विभिन्न प्रकारका खेलहरु सञ्चालन भएको थियो । विद्यार्थीले वर्षभरी खेलेको खेललाई प्रतिस्पर्धात्मक ढंगमा उतारेर कला प्रदर्शनी गराउनका लागि खेलकुद कार्यक्रम आयोजना गरेको प्रिन्सिपल थपलियाले स्पष्ट पार्नुभयो । शुक्रबारबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको वार्षिक खेलकुद मंगलबारसम्म सञ्चालन भएको हो । प्रतियोगिताको विजेताहरुलाई बुधबार विद्यालय परिसरमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रामहरि कार्कीको सभाध्यक्षमा कार्यक्रमको समापन समारोह भएको हो । समापन समारोहमा बोर्डिङका संस्थापक राजन थापा, मकवानपुर जिल्ला रग्बी संघका अध्यक्ष लिला घलान, अन्तर्राष्ट्रिय भलिबल खेलाडी चुडाकुमारी खड्का, जिल्ला भलिबल संघका उपाध्यक्ष शंकर कार्कीलगायत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।