१. आफूलाई कमजोर र नजान्ने भनाउन शायदैले रुचाउँछन् । प्रत्येक विषय र क्षेत्रमा प्रसंग उठ्ने बित्तिकै लगातार बोलिरहने आदत हामी धेरैजसोको छ नै । अर्काले बोलेको सुन्नै नचाहने तर आफूले बोल्दा अरु शान्तपूर्वक सुनिरहुन ठान्ने संस्कारले हामीलाई जकडेको छ । आफूलाई फाईदा हुने कुरा र काम छ भने कुनै पनि प्रकारले त्यो आफैंले गर्नेगरि मिलाउने कसरतमा लाग्ने स्वभाव समस्या बन्दै गएको छ । विषयगत विज्ञहरुको यहाँ मुल्य हुँदैन । एउटा शिक्षक, शिक्षक मात्र नभै एकै दिनमा आफ्नो पेशाको अतिरिक्त एक राजनीतिज्ञ, जनप्रतिनिधि, ब्यवसायी, प्रशासक, पत्रकार, विद्यार्थी, कर्मचारी, डाक्टर, ईन्जिनियर, सामाजिक कार्यकर्ता, किसान, आदि सबैको भूमिकामा प्रस्तुत हुन भ्याउँछ । त्यस्तै एउटा नेता एकैक्षण पनि नेता बनिरहन सक्दैन । एकै दिनमा दशवटा पेशाको प्रतिनिधित्व गर्नैपर्ने प्रेसर जस्तो बुझिन्छ । सबै पेशा, वर्ग र तहमा यो समस्या देख्न सकिन्छ ।
२. एउटा नेता विद्यालयको कार्यक्रममा भाषण गर्दा शिक्षक नै बन्नुपर्ने होइन , नेताकै ठाउँमा रहेर बोल्दा राम्रै हुन्छ । कृषकहरुको कार्यक्रममा किसान भन्ने, कर्मचारीकोमा गए कर्मचारी नै बन्ने, विद्यार्थीकोमा बोल्न परे विद्यार्थी नै हुने जस्ता प्रवृत्तिलाई कुनैपनि कोणबाट उपयुक्त भन्न सकिन्न । शिक्षकको काम शिक्षकले गर्ने हो, नेताले होइन। जो ब्यक्ति जुन कामको लागि तोकिएको छ, त्यहि काममा विशिष्टता हासिल गर्दा नै ब्यक्ति र राष्ट्रको प्रगति सम्भव हुन्छ । जानकारी लिन खोज्नु र ज्ञानको दायरा बढाउनु भिन्न विषय हो, यो काममा कतै आलोचना हुँदैंन । यो ज्ञान र सीपसंग जोडिएको सबाल हो । यो सिकाई लक्षित हुन्छ तर भूमिका र प्रतिनिधित्व भनेको विषयगत दक्षता हुनै पर्छ । एउटा शिक्षक , शिक्षक मात्र बनेर सिकाउने काममा ब्यस्त रहँदा नै बिस्तारै शिक्षणमा नै विशिष्टता हासिल गर्न सहज हुन्छ । दशवटा पेशाको वकालत गर्दै हिंड्दा विषयगत पक्ष कमजोर त बन्छ नै ,संगै अज्ञानता र अल्पज्ञानका कारणले बिस्तारै विश्वसनियता गुमाउँदै जाने तथ्यमा बिमति छैन ।
३. सिपालु बनेर धेरै विषयका कुरा गर्दा ठूला भनिएका उच्च पदासिन ब्यक्तिहरु पाईलैपिच्छे हास्यपात्र बनेका उदाहरण हामीसंग अनेकौं छन् । प्रत्येक मान्छे डाक्टरको भूमिकामा औषधी सिफारिस गर्न थाल्ने हो भने बिरामीको नतिजा के होला अनुमान गर्न सकिन्छ । सबै मान्छे ड्राईभर वा पाईलटको सिटमा बस्दा यात्रुको हविगत भनिरहन नपर्ला । शिक्षकको काम शिक्षण गर्ने नै हो । आफूले जानेको र गरेको पेशामा नै दक्षता विशिष्टता हासिल गर्ने विज्ञहरुको नै दुनियाँमा महत्वपूर्ण स्थान हुन्छ । खोज अनुसन्धान भनेको एकाध महिना वा वर्षको प्याकेज होइन । दशकौं वर्ष अनि सि¨जीवन नै कुनै चराको अध्ययन गरेर विज्ञ बनेका ब्यक्तिको जीवनी हामीले पढेका छौं । त्यस्तै सर्प, भ्यागुत्ता, छेपारो, किरा, भाईरस, वाघ, हात्ती, मानव आदिका जाति प्रजातिका विषयमा खोजकर्ता वा अनुसन्धानकर्ताले अध्ययन नगरेको भए आज हामीले ती प्राणीका बारेमा गरिने अनुमानले उपहासका पात्र त बन्ने नै थियौं संगै हाम्रो ज्ञानको दायरा कमजोर र सिमित हुने तथ्यमा शंका छैन । त्यसैले त विषय विज्ञहरुको आवश्यकता प्रत्येक देश, काल र परिस्थितिमा अनिवार्य बनेको छ ।
४. पौडिने सीप नभएको मान्छे नदी वा तलाउमा जम्प गरे जस्तै एउटा किसान तत्कालै शिक्षक बनेर गफ छाँटने, शिक्षकले किसान बनेर किटनाशक औषधी हाल्न थाल्ने, नेताले ईन्जिनियर बनेर बाटो र पुलको डिजाईन गर्ने , वकिलले गाईभैंसीलाई भ्याक्सिन दिने, मन्त्रिले बिरामीको प्रेस्क्रिप्सन लेख्ने, डाक्टरले नेता झैं घण्टौं भाषण गर्ने जस्ता कामले परिणाम हानीकारक मात्र हैन मासिने स्थिति स्पष्ट बन्दछ । सबै मान्छे गित गाउन थाल्ने हो भने गायकको आवश्यकता पर्ला र ? Little knowledge is dangerous यस्तै सन्दर्भमा भनिएको हुन सक्छ । त्यस्तै कलाकार, साहित्यकार,चित्रकार, नेता, अभिनेता, वैज्ञानिक, आदि जन्मजात कला, गला र सीपले युक्त भएकाहरुको क्षमता अनि दक्षताले ख्यातिप्राप्त बनेकाहरुको नै इतिहास, वर्तमान र भविष्य हुने हो । औसतहरु स्वभाविकरुपमा क्षणिक उपस्थिति जनाउँदछन् र हराउँछन् ।
५. विषयगत र पेशागत सीपमूलक दक्षता र क्षमता एक समृद्ध राष्ट्रको पहिलो शर्त हो । नृत्यकारले नाच्ने नै हो, ब्यापार गर्ने होईन । नृत्य संग गायन जोडिन सक्छ तर कृषिको कुनै साईनो हुँदैन । शिक्षा संग साहित्य जोडिन सक्छ तर बस, जहाज तथा रेल चलाउने कलासंग कुनै सम्वन्ध हुँदैन । एक टेलिभिजनको प्रस्तोताले समाचार वाचन गर्न सक्छ तर टिभिमा नै नाच्न गाउन थाल्ने हो भने त्यो तमाशा मात्र बन्न सक्छ । हाम्रो ध्यान नगएको वा जानकारी भएर पनि बेवास्ता गरिएको यस्तै विषयहरु बिस्तारै समस्या बनिरहेका छन् । एकै ब्यक्ति एकै छानामुनि मालिक र मजदूर बन्ने बनाउने काम कहिलेसम्म उपयुक्त छ भनेर बसिरहने ? यो आजको सबाल हो । एक नेता वा मन्त्रि बहकिएर मौका पर्नासाथ कार्यकर्ता र मतदाताको स्थानमा ओर्लनुलाई शोभनिय मान्न सकिदैन। त्यस्तै शिक्षक कक्षाकोठामा शिक्षक नै हो , उ त्यहाँ विद्यार्थी हुनै सक्दैन । शिक्षकले शिक्षाका प्रशासकहरुको काम गर्न जरुरी छैन । अनि शिक्षाका प्रशासकहरु प्रशासनमै रहने हो, शिक्षक बनेर क्षणिक अभिनयमा आउनुको अर्थ छैन ।
६. प्राथमिक शिक्षकको योग्यता एसएलसी हुँदा विषयगत विशिष्टता नहुने कारणले उक्त तहको शिक्षकले कुनैपनि विषय पढाउनु सिकाउनु पर्ने भनिन्थ्यो जुन ब्यवहारमा आज सम्म पनि कायमै छ । शिक्षामा यो एक समस्या नै थियो र छ । अंग्रेजी तथा गणित जस्ता विषयमा मुस्किलले उत्तिर्ण गरेका शिक्षकका लागि सोहि विषय पढाउन दिने अनि गुणस्तर खोज्ने हाम्रो शिक्षा मन्त्रालय विरोधाभासको विवादास्पद घेरामा जेलिएको भन्नै पर्छ । पछिल्लो समयमा आधारभूत तहको कक्षा ५ सम्म पढाउन कक्षा १२ उत्तिर्ण र कक्षा ८ सम्म पढाउन स्नातक तह उत्तिर्ण अनि माध्यमिक तह अर्थात कक्षा १२ सम्म पढाउन स्नातकोत्तर तह उत्तिर्ण हुनुपर्ने भनिएता पनि ब्यवहारमा अझ सम्म लागु हुन सकेन । शिक्षक सेवा आयोगले बिगत झैं प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह भनेर स्थायीको लागि विज्ञापन गरि परीक्षा लिदैंछ । विषयगत शिक्षकका अभाव देखाएर सामाजिक विषय शिक्षकले गणित पढाउने स्थिति रहेसम्म शैक्षिक गुणस्तरका कुराले कुनै अर्थ राख्दैन । यो अन्य क्षेत्र र विषयका हकमा पनि लागु हुन्छ । काम चलेकै छ भन्नु र विषयगत विशिष्टिकरण गरेका जनशक्तिबाट सोहि काम हुनुमा आकाश जमिनकै अन्तर हुन्छ भन्दा अत्युक्ति नहोला । यहाँ पनि ज्याक अफ अल माष्टर अफ ननले काम गर्दछ भन्नै पर्दछ । Right man- Right Place भन्ने अंग्रेजी भनाई स्मरणीय र मननीय भन्ने उच्च नेतृत्व तथा सरकारी संयन्त्रहरुबाट ब्यवहारमा गरेर नदेखाए सम्म देश समृद्धिका कुरा कागजमै सिमित हुने तथ्य साबित भैसकेको छ ।