उत्प्रेरणामक अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थी ।

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा एसईईमा सहभागी हुने विद्यार्थीलाई अभिप्रेरणात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक दिवसीय अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगर क्षेत्रका १८ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । डा. ताराप्रसाद गिरीले एसईईको तयारीका लागि विद्यार्थीले ध्यान दिनुपर्ने कुरा, विद्यार्थीको व्यवहार, आचरणमा सुधार गर्न ध्यान दिनुपर्ने कुराका विषयमा अभिप्रेरणात्मक प्रस्तुती राख्नुभएको थियो ।

विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने सपना देख्नुपर्ने र त्यसअनुसार अध्ययनको तयारीमा लाग्नुपर्ने डा. गिरीको भनाइ थियो । कार्यक्रममा मकवानपुरका १८ वटा निजी विद्यालयका ४ सय ४७ जना विद्यार्थीको सहभागिता रहेको थियो । पहिलो चरणको कार्यक्रममा सहभागी हुन नपाएका विद्यालयका विद्यार्थीलाई माघ महिनाको अन्तिममा दोस्रो चरणको कार्यक्रम आयोजना गरिने प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदीप गिरीले जानकारी दिनुभयो ।