हेटौँडा ः बागमती प्रदेशसभाका सदस्य ज्ञानबहादुर तामाङको नाम जोडिएको नेशनल नमोबुद्ध सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरिएको छ । एमालेको समानुपातिक सूचिबाट प्रदेश सभा सदस्य बन्नुभएका तामाङ जोडिएको नेशनल नमोबुद्ध सहकारीलाई प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको हो ।
आइतबार सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त सहकारी घोषणा गरेसँगै सहकारीको केन्द्रीय कार्यालयमा प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तालाबन्दी गरेको छ । मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको भोलिपल्ट सोमबार काठमाडौंको सामाखुशीमा रहेको सहकारीको केन्द्रीय कार्यालयमा समितिका अध्यक्ष प्रभात अधिकारीसहितको टोलीले तालाबन्दी गरेको हो । टोलीले कार्यालयमा तालाबन्दीसँगै सहकारीको आय–व्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिक्सहरु सिज गरेको छ । सहकारीको सम्पति भन्दा पनि दायित्व बढी देखिएपछि मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिका अध्यक्ष अधिकारीले प्रदेश सहकारी मन्त्रालयको निर्देशनमा आफूहरुले सहकारीको कार्यालयमा तालाबन्दी गरेको जानकारी दिएको छ । उहाँले तालाबन्दीसँगै कार्यालयबाट कम्प्युटरका हार्डडिक्सहरु नियन्त्रणमा लिएको र अन्य कागजातहरु लिएर २ माघमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताउनुभयो । अध्यक्ष अधिकारीले सम्पूर्ण कागजात र आयव्ययको अध्ययन गरेपछि मात्रै सहकारीको वास्तविक अवस्थाका बारेमा भन्न सकिने जानकारी दिनुभयो । काठमाडौंको सामाखुसीस्थित नेशनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष समेत रहनुभएका प्रदेश सभा सदस्य तामाङसहितका पदाधिकारीका कारण ११ हजार बचतकर्ताको करिव २ अर्ब अपचलन गरेको भन्दै प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो ।
सहकारीको अध्यक्ष हुँदा महँगो व्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका–९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गर्नुभएको थियो । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा १४ करोड रुपैयाँ ऋण निकालेर चलाएको र तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका अहिलेका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता दिएका थिए । २०७२ सालदेखि २०७८ सालसम्म सहकारीका अध्यक्ष रहनुभएका तामाङ सहकारीबाट बाहिरिएलगत्तै रकम हिनामिना गरेको आरोप लगाइएको छ । बचत फिर्ता माग्दा सहकारीले दिन आनाकानी गरेको बचतकर्ताहरुको भनाई छ । २९ पुस २०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीका अध्यक्ष राजकुमार लामा हुनुहुन्छ ।
सहकारी महाशाखाका रजिष्ट्रार कुमार तामाङले सहकारीको सम्पति भन्दा पनि दायित्व बढी देखिएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिनुभयो । बचतकर्ताले दिएको उजुरीका आधारमा सहकारीका व्यवस्थापक र पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर पटक–पटक छलफल गर्दा पनि समस्या समाधान हुने अवस्था नदेखेपछि समस्याग्रस्त घोषणा गर्नुपरेको उहाँको भनाई छ । रजिष्ट्रार तामाङका अनुसार सहकारीका अध्यक्ष राजकुमार तामाङसहितका पदाधीकारीहरुलाई १७ असोज २०८०, २२ कात्तिक र २० चैतमा छलफलका लागि बोलाइएको थियो । छलफलका क्रममा सहकारीले बचत फिर्ताको लागि ३ बैशाख २०८१ मा कार्ययोजना पेश गरेको भएपनि सो अनुसार काम नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
उहाँले बचतकर्ताहरुले नेशनल नमोबुद्ध सहकारीसँग १२ करोड २७ लाख रुपैयाँ बचत फिर्ताको माग गरेको जानकारी दिनुभयो । छलफलका क्रममा सहकारीसँग १ अर्ब ५२ करोड रुपैयाँ दायित्व देखिएको उल्लेख गर्नुहुँदै उहाँले सहकारीसँग अनुमानित ७० करोड रुपैयाँको सम्पत्ति देखिएको बताउनुभयो ।