हेटौंडाः हेटौंडा अस्पतालमा कोभिड–१९ संक्रमित विरामीको संख्या शून्य रहेको छ । हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा पछिल्लो एक महिनामा भर्ना भएर उपचार गराउने विरामी शून्यप्रायः छ । पछिल्लो एक महिनाको अवधिमा एकजना विरामी मात्रै एक रात चिकित्सकको निगरानीमा बस्नु परेको हेटौंडा अस्पतालको कोभिड–१९ वार्डका इन्चार्ज डा. प्रशान्त विडारी बताउनुहुन्छ ।

‘पछिल्लो एक महिनामा एकजना विरामीले मात्रै एकरात चिकित्सकको निगरानीमा बस्नु परेको छ’, डा. विडारीले भन्नुभयो, ‘कोभिड–१९ संक्रमितको संख्या नै न्यून हुनु र संक्रमित व्यक्तिमा पनि सामान्य लक्षण देखिने र आधारभूत परीक्षणका क्रममा कुनै किसिमको खतरा नहुँदा संक्रमितलाई डिस्चार्ज गर्ने गरेका छौं ।’

कोभिड–१९ सँग मिल्दो लक्षण भएका वा संक्रमति भई आउने व्यक्तिको रक्त परीक्षण, छातीको एक्स–रे गर्नुका साथै आवश्यकताअनुसार सिटी स्क्यान समेत गर्ने गरिएको डा. विडारी बताउनुहुन्छ ।