फाइल तस्बिर

हेटौंडाः खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज (बिहीबार) काठमाडौं उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछन् ।
खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

काठमाडौंले प्लेअफको पहिलो खेलमा धनगढी रेजर्ससँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल प्रवेश गर्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । यस खेलमा जित हात पार्ने टोलीले जेठ १ गते धनगढी एफसीको सामना गर्नेछ । धनगढीले काठमाडौंलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

मकवानपुरे खेलाडीहरु सम्मिलित दुबै टिम यो प्रतियोगितामा दोस्रो पटक भिड्दैछन् । ललितपुरमा मार्की खेलाडी तथा टिमका कप्तानका रुपमा मकवानपुरका शान अन्जन विष्ट, रन्जन विष्ट र गोलरक्षक रोहित कार्की रहेका छन् भने काठमाडौंको टिममा नेपाल आर्मीको फुटबल टिममा रहेका मकवानपुरे खेलाडी बिमल पाण्डे रहेका छन् ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।