अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा कोभिडले यो वर्गलाई परेको प्रभावका विषयमा गम्भीर समीक्षा हुनु आवश्यक छ । महामारीले विश्व अर्थतन्त्र तहसनहस भएको अवस्थामा श्रमिकको जीवन सुरक्षाका लागि ठोस योजना आजको आवश्यकता हो । कोभिडले नेपाली समाज पनि नराम्रोसँग प्रभावित भइरहँदा यहाँका श्रमिकको अवस्थाबारे कसैलाई चासो र चिन्ता देखिँदैन । रोजगारदातादेखि राज्यका निकायहरुबाट ठोस योजना ल्याउन सकेको छैन । देश निर्माणको मुख्य जनशक्ति श्रमिक वर्ग नै हुन् । न्यून पारिश्रमिकमा देश निर्माणको अभिभारा बोक्ने श्रमिक वर्गले अघिल्लो वर्षदेखि दिवससमेत मनाउन पाएका छैनन् । कोरोना भाइरसले विश्व श्रमबजार सबैभन्दा बढी प्रभावित भएको छ । नेपालमै पनि लाखौंको संख्यामा श्रमिकहरुले रोजीरोटी गुमाएका छन् । देशको अर्थतन्त्र श्रमिकको क्षमता र ब्यस्ततामा निर्भर हुने गर्दछ ।
विकास निर्माणका योजनादेखि औद्योगिक क्षेत्रमा पुर्याएको नोक्सानीको पहिलो प्रभावित श्रमिकहरु नै बनेका छन् । काम नभएपछि पारिश्रमिक छैन । कतिपय अवस्थामा रोजगारी नै गुमाएको अवस्था छ । तर श्रमिकको हकहितका लागि काम गर्ने भन्दै गठन भएका राजनीतिक दलका भातृ संस्थाहरुबाट कुनै पहल भएको देखिएको छैन । जसलाई समस्या पर्यो उसैले मात्र भोग्नु परिरहेको छ । श्रम क्षेत्रमा काम गर्नेहरु संगठित भएमात्र आफ्ना अधिकारका लागि सामूहिक दवाव पुग्दछ । तर राज्य वा रोजगारदाताहरुले नै श्रमिकलाई सामूहिक शक्तिबाट तितरवितर बनाउँदै आएका छन् । नारामा विश्वका श्रमिक एक होऔं भनिए पनि देशभित्र मात्र हैन कि एउटै कम्पनीमा काम गर्नेहरु नै संगठित नहुँदा उनीहरुका आवाज कमजोर बन्दै आएको अवस्था छ ।
श्रमिकका पीडाहरुमाथि छलफल र समाधानका लागि ठोस योजना बनाउनु आजको आवश्यकता हो । कोभिडको त्रासबाट भाग्ने र लगानीकर्ताको मात्र योजना बनाउँदै गर्दा श्रमिकको दैनिकीलाई ध्यानमा राख्नु पर्दछ । लगानी डुब्ने, अर्थतन्त्रमा पर्ने नोक्सानी पूर्ति गर्ने विषयमा छलफल हुँदै गर्दा अर्थतन्त्र उकास्न योगदान गर्ने श्रमिकहरुको जीवन धान्ने पक्षबाट पनि योजना प्राथमिकतामा पर्नु पर्दछ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकको अधिकार हो । तर विश्वव्यापी महामारीले जीवन धान्नै मुस्किल परेको छ । कोभिडबाट श्रम क्षेत्रका कति मानिस प्रभावित भएका छन् । मृत्यु हुने र जोखिम अवस्था के छ भन्ने कुरामा कसैले ध्यान दिएको छैन । न त अध्ययन नै गरिएको छ ।
कोभिडले सबै नागरिक पीडित छन् । बालबालिका, महिला, पुरुष भनिएजस्तै श्रमिक वर्गको छुट्टै आँकडा तयार पार्ने काममा किन सरोकारवाला संघ संगठनहरुले ध्यान दिएका छैनन् ? कोरोनाको अवधिमा उद्योग सञ्चालन गर्नका लागि स्वास्थ्य मापदण्ड बनेको अवस्था छ । चुनौतीका अवस्थामा काम गर्ने मजदुरलाई जोखिमको पूर्ति कसरी गराइएको छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ । औद्योगिक प्रतिष्ठान वा आयोजना परिसरमै बस्नुपर्ने र घर परिवारसँग सम्पर्क गर्न नपाइने स्वास्थ्य प्रोटोकलबाट उनीहरुमा पर्ने मानसिक अवस्था, सेवा सुविधा, स्वास्थ्य अवस्थादेखि सुरक्षा अवस्थामा उचित व्यवस्था गरिनु पर्दछ । श्रमिक दिवस मनाउँदै गर्दा श्रमिकले कोभिडबाट भोग्दै गरेका चुनौतीका पक्षबाट बहस हुन जरुरी छ ।