नयाँ समिति चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–११ स्थित उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–११ स्थित नवलपुर पार्टी प्यालेसमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष दिनेश विडारीको सभाध्यक्षमा वार्षिक साधारणसभा भएको हो ।

साधारणसभाबाट विडारीकै अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षा समिति सर्वसम्मत चयन भएको छ । सोमबार दिउँसो नयाँ सञ्चालक समिति चयन गरिएको हो । सञ्चालक समितिको उपाध्यक्षमा यज्ञबहादुर आचार्य, सचिवमा रामेश्वर नगरकोटी, कोषाध्यक्षमा लक्ष्मी मैनाली चयन हुनुभएको छ । साधारणसभाबाट सदस्यमा अर्जुनबहादुर मिश्र, रिता सिवाकोटी बर्तौला, विशालदीप कप्रौला, लक्ष्मी पुडासैनी र रामेश्वर फुयाँल चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा पवन पण्डित, सदस्यमा रविन मिश्र र रञ्जिता केसी चयन हुनुभएको छ ।

साधारणसभामा सहकारीका अध्यक्ष दिनेश विडारीले सहकारीको करिब ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको जानकारी दिनुभएको छ । १ हजार ९ सय १७ जना सेयर सदस्य रहेको सहकारी संस्थाको सेयर पूँजी करिब १ करोड ३० लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो । साधारणसभामा कोषाध्यक्ष र सचिवले प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा वडा अध्यक्ष जुना दाहालको पनि आतिथ्य रहेको थियो ।