हेटौंडाः मकवानपुरका प्रमुख जिल्ला अधिकारीले बैशाख २० गते सोमबारदेखि जिल्लाका ४ पालिकाका लागि आदेश जारी गर्नु भएको छ । बढ्दै गरेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबारदेखि बैशाख ३१ गतेसम्मका लागि हेटौंडा, भीमफेदी, थाहा र मनहरीमा लागू हुने आदेश जारी गर्नुभएको हो ।
शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकामा पूर्व–पश्चिम राजमार्गको ५ सय मिटर दायाँबायाँको क्षेत्रमा अत्यावश्यक उपभोग्य वस्तु खरिद गर्न दिनमा ४ घण्टा समय छुट्याइएको छ ।
उपभोग्य सामग्रीअन्तर्गत् खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी खरिद तथा बिक्री गर्नका लागि बिहान ५ बजेदेखि ९ बजेसम्मको समय छुट्याइएको छ । उपभोग्य सामग्रीसहित औषधी तथा अत्यावश्यक वस्तु खरिद गर्न निस्कन पाइएपनि घरबाट नजिक पर्ने स्थानबाट खरिद गर्नुपर्नेसमेत प्रमुख जिल्ला अधिकारीको आदेशमा लेखिएको छ । खाद्य वस्तु बिक्री गर्ने पसल ४ घण्टामात्र खोल्न पाइनेछ भने औषधी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल तथा सवारी मर्मत गर्ने वर्कशप भने नियमित सञ्चालन गर्न पाइने उल्लेख छ । यीबाहेकका सम्पूर्ण व्यवसायहरु बन्द गर्न प्रमुख जिल्ला अधिकारीले आदेश दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अत्यावश्यकबाहेक मोटरसाइकलसहित कुनैपनि प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी तथा ढुवानीका साधनहरु चलाउन पाइने छैन । एम्बुलेन्स, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, स्वास्थ्य सामग्री तथा अक्सिजन ढुवानी गर्ने सवारी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनहरु चलाउन पाइनेछ । यस्तै शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना, कृषि मल तथा बिउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ तथा तयारी उत्पादन बोक्ने गाडी पनि चलाउन पाइने आदेशमा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेटलगायतको सेवाप्रवाह गर्ने, सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको सवारी साधनहरु सम्बन्धित कार्यालयको पहिचान खुल्ने फोटोसहितको परिचयपत्रका आधारमा चलाउन पाइने जनाइएको छ । बाहिरी जिल्लाबाट आएका लामो दुरीका सवारी साधनका हकमा भने जिल्लाभित्र कतै पनि रोक्न नपाउने गरी सञ्चालन गर्न दिइने भएको छ ।
यस्तै, बिवाहका लागि जिल्लाभित्र वा बाहिरी जिल्लामा जानका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर २ वटासम्म सवारी साधनमा बढीमा १५ जनामात्र जान पाइने निर्णयमा उल्लेख गरिएको छ । आफ्नै घरभित्र हुने बिवाहको हकमा भने नजिकको प्रहरी र्काालयमा जानकारी गराएर बढीमा १५ जनाको उपस्थितिमा जनस्वास्थ्य मापदण्ड पूरा गरी सम्पन्न गर्न सकिनेछ । धार्मिक स्थलहरु नित्य पूजा गर्नमात्र खुला गरी अन्य समयमा बन्द गर्न भनिएको छ ।
बैंक, वित्तीय संस्था तथा सहकारीहरु पनि आलोपालो विधिबाट भिडभाड नहुने गरी बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खोली सेवाप्रवाह गर्न अनुमति दिइएको छ भने एटीएम २४ सै घण्टा खोल्न निर्देशन दिइएको छ । यसैगरी अत्यावश्यक सरकारी सेवा प्रदान गर्ने कार्यालयमा एक तिहाई कर्मचारीको उपस्थितिमा आलोपालो विधिबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
औद्योगिक क्षेत्रहरुमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई जनस्वास्थ्य मापदण्ड पालना गर्न लगाई उद्योग परिसर वा निश्चित स्थानमा राखेर बाहिर जान नदिई उद्योग चलाउन सकिने तथा विकास निर्माण र निर्माण कार्य सञ्चालन गर्दा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था गरेर निर्माण कार्य गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।
पछिल्लो समय मकवानपुरमा दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रशासन कार्यालयले संक्रमण नियन्त्रणका लागि थप कदम चाल्दै गएको छ । गत आइतबारबाट हेटौंडामा भिडभाड कम गर्न भन्दै जोरबिजोर प्रणालीबाट सवारी चलाउन पाइने नियम बनाएपछि बजार क्षेत्रमा सवारी चाप तथा मानिसहरुको भिडभाड केही मात्रामा भएपनि कम भएको पाइएको छ । तथापि कोरोना संक्रमण नियन्त्रणमा नआएपछि थप कदम चाल्नुपरेको प्रजिअ पाण्डेको भनाइ रहेको छ ।