हेटौंडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा कारले मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका ४ निवासी अन्दाजी ३५ बर्षीय सन्जय कुमार शुक्ला रहेका छन् ।

यस्तै दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार महिला घाइते भएकी छिन् । घाइते हुनेमा नवलपरासी जिल्ला कावासोती नगरपालिकाकी ३३ वर्षीया ज्योती अर्याल रहेकी छिन् । दुर्घटनाबाट उनको शरीरको विभिन्न भागमा चोट लागे पनि अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रातोमाटेबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३८ प ९३६१ नं. को मोटरसाइकललाई बिपरित दिशाबाट जा“दै गरेको बा ८ च २९५३ नं. को कारले दिउँसो १ बजेर २० मिनेटमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि चुरेहिल अस्पताल लगिएकोमा मोटरसाइकल चालक शुक्लाको उपचारको क्रममा सवा २ बजे मृत्यु भएको जनाइएको छ ।

यस्तै कार चालक फरार रहेकाले इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले खाजी कार्य जारी राखेको प्रहरी निरिक्षक अधिकारीले बताउनु भयो । कार भने प्रहरीको नियन्त्रणमा रहेको छ ।