भरतमणि पाण्डे, प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यलय मकवानपुर

दिनानुदिन बिकरालरुपमा बढ्दै गएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन मकवानपुरमा विभिन्न प्रयासहरु भइरहेका छन् । बजार क्षेत्रमा सवारी साधनमा जोरबिजोर प्रणाली, व्यवसाय सञ्चालन गर्न बारअनुसार खोल्ने, जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालयबाट सेवाप्रवाह गर्न पालिकाअनुसार बार छुट्याइएको छ । यस्ता निर्णयहरुले भिडभाड नियन्त्रण गर्न सघाउ पुग्ने र जिल्लामा संक्रमण फैलिन नदिने विश्वास लिइएको र स्थानीय स्रोतसाधन र क्षमताले भ्याएसम्म संक्रमण फैलिन नदिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको भनाइ रहेको छ । यसै सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता आरबी पौडेलले प्रजिअ पाण्डेसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः कोरोनाको संक्रमण बढिरहेको अवस्था छ, यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले के–कस्ता कामहरु गरिरहेको छ ?
प्रजिअ पाण्डेः
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अहिले ३ वटा प्रयासका साथ काम गरिरहेको छ । पहिलो भनेको प्रचारप्रसारका विभिन्न विधि अवलम्बन गरी जनतालाई सचेत गराउने । कम्तिमा पनि मास्क अनिवार्य लगाउने, भोतिक दुरी कायम गर्न लगाउने, हात धुने बानीलाई निरन्तरता दिने र भिडभाड नगर्ने भन्नेतिर हामीले बढी जोड दिएका छौं । जसले गर्दा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नपाओस् भन्ने हाम्रो उद्देश्य हो । जसका लागि बजारमा निरन्तररुपमा हामीले बढी भिडभाड हुने ठाउँमा प्रचारप्रसारको विधि अवलम्बन गर्दैछौं । मास्क लगाउनका लागि प्रेरित गरेका छौं र यदि कसैले मास्क नलगाएको अवस्थामा हामीले संक्रमण रोग ऐन २०२० अनुसार कारवाही पनि गरेका छौं । त्यस्तै बढी भिडभाड हुने क्षेत्रहरुमा विशेषगरी सरकारी कार्यालयहरु, सार्वजनिक संस्थानहरुमा सेवाप्रवाहलाई अल्टरनेटिभ गरेर, जोरबिजोर प्रणालीद्वारा, हप्तामा पालिकाअनुसार दिन छुट्याएर आलोपालो प्रणालीबाट काम गरेको अवस्था छ ।

समाजः कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको प्रयासहरु कत्तिको प्रभावकारी बनेको छ ?
प्रजिअ पाण्डेः
हामीले पहिलो चरणमा प्रचारात्मक विधि अवलम्बन गरेका छौं । दोस्रो चरण भनेको हामीले यो रोग समुदायमा फैलिन नदिनु रहेको छ । र, उपचार विधिलाई सहज बनाउने भन्नेअनुसार हामी गइरहेका छौं । त्यसका लागि अहिले विशेषगरी सवारी साधनमा जोरबिजोर प्रणाली अवलम्बन गर्ने कुराहरुदेखि लिएर बजारको भिडभाड कम गर्ने कुरामा हाम्रो जोड छ । व्यक्तिहरु एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने वातावरण बनाऔं र भिडभाड नहोस् भन्नेमा नै हाम्रो ध्यान केन्द्रित छ । जसका लागि सरकारले नै विद्यालयहरु बन्द गरेको छ । परीक्षाहरु पनि सञ्चालन गर्न नपाउने अवस्था सिर्जना भएको छ । त्यसमा हामी कडाईका साथ कार्यान्वयन गरिरहेका छौं भने सार्वजनिक सेवा पनि आलोपालोमा प्रदान गरेका छौं । तेस्रो रणनीति भनेको उपचारलाई सहज बनाउने हो । त्यसका लागि सम्भव भएसम्म संक्रमितहरुलाई घरमै बस्नका निम्ति प्रेरित गर्छौं । घरमा नै बसेर धैर्यताका साथ अन्य विधिहरु अवलम्बन गरी र अरु व्यक्तिहरुसँग सम्पर्कमा आउन नदिने, होम आइसोलेसन वा होम क्वारेन्टिनकै कुरालाई हामीले जोड दिएका छौं । यदि कसैलाई अप्ठ्यारो परेको अवस्थामा नजिकमा रहेको आइसोलेसन सेन्टरमा जानका लागि आग्रह गर्छु । त्यसका लागि हामीले हेटौंडाको हकमा गौरीटार आइसोलेसन सेन्टरमा कम्तिमा पनि १२० वेडको आइसोलेसनको व्यवस्था गरेका छौं । त्यसैगरी हेटौंडा अस्पतालभित्र रहेको प्रशासनिक भवनमा सुविधासम्पन्न आईसीयु, २ वटा भेन्टिलेटरसहितको अस्पतालको पनि व्यवस्था भएको छ । हेटौंडाभन्दा बाहिरको हकमा सम्बन्धित स्थानीय तहले स्थापना गरेको आइसोलेसन वार्डहरुमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको व्यवस्थापन पनि गरेका छौं ।

समाजः छिमेकी देश भारतमा पनि अक्सिजनको कमी भइरहेको समाचार आइरहँँदा मकवानपुरमा अक्सिजनको व्यवस्था के–कति गरिएको छ ?
प्रजिअ पाण्डेः
हामीलाई नीजि क्षेत्रले अक्सिजन सप्लाई गरिरहेको छ । आजैमात्र पनि हामीले सम्भावित अक्सिजन व्यसायीहरुको स्थलगतरुपमा निरीक्षण पनि गरेका छौं । उहाँहरुसँग हामीले तथ्याङ्क पनि लिएका छौं । हामीलाई पछिल्लो पटक प्राप्त विवरण हेर्दाखेरि मकवानपुरमा आजको दिनमा नै हामीलाई अक्सिजनको अभाव हुने अवस्था छैन । तर भोलिका दिनमा संक्रमण बढ्दै जाँदाको अवस्थामा थप अक्सिजनको आवश्यकता पनि हुनसक्छ । त्यसका लागि हामीले सम्बन्धित व्यवसायीहरुलाई तयारी भएर रहनका लागि र अहिले अक्सिजन स्वास्थ्य प्रायोजनका लागि मात्र प्रयोग गर्न, औद्योगिक प्रायोजनका लागि प्रयोग नगर्न आग्रह गरेका छौं ।

समाजः मकवानपुरमा संक्रमणको भयावह अवस्था आउन सक्ला ?
प्रजिअ पाण्डेः
हामी सचेत रहन आवश्यक छ । हाम्रा छिमेकी जिल्ला पर्सामा संक्रमणको दर बढ्दै छ । काठमाडौं उपत्यकाभित्र पनि संक्रमणको दर उच्च रहेको कारणले गर्दाे स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको अवस्था छ । त्यस्तै अर्को छिमेकी जिल्ला चितवनमा पनि संक्रमणको दर बढ्दैछ । छिमेकी जिल्लामा संक्रमण दर बढ्दै जाने र आवतजावतलाई हामीले रोक्न नसक्ने अवस्था भयो भने पक्कै पनि यो जिल्ला उच्च जोखिममा रहेको छ । त्यो हिसाबले पनि भोलिका दिनमा यहाँ जोखिम नहोला भन्न सकि“दैन । त्यसका लागि हाम्रो स्थानीय स्रोतसाधन र क्षमताले भ्याएसम्म संक्रमण फैलिन दिँदैनौं ।

समाजः आगामी दिनमा मकवानपुरमा निषेधाज्ञा वा लकडाउन जारी हुनसक्छ ?
प्रजिअ पाण्डे ः
सम्भव भएसम्म हामी अहिलेकै विधिबाट संक्रमणलाई नियन्त्रण गर्छौं । संक्रमणको दर बढ्दै जाँदाको अवस्थामा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐनले दिएका अधिकारहरु प्रयोग गरेर उपयुक्त कदमहरु चाल्न सक्छौं ।

समाजः कोरोनाका कारण विशेषगरी व्यवसायी तथा श्रमजीवी व्यक्तिहरुलाई समस्या परिरहेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले के गर्नसक्छ ?
प्रजिअ पाण्डेः
समस्या सबैलाई परेको छ । व्यवसायीहरुलाई बढी मार परेको हुनसक्ला । जसलाई बढी प्रभाव परेको छ, नेपाल सरकारले विगतका दिनमा पनि उचित राहतको प्याकेजहरुको निर्णय गरेको छ । त्यसकारणले पनि भोलि नेपाल सरकारले गरेको त्यस्ता राहतका प्याकेजहरु, सहुलियतका कुराहरु भयो भने जिल्ला प्रशासन कार्यालयले त्यो प्रदान गर्नका लागि सहजीकरण गर्न सक्नेछ । त्यो हिसाबले पनि सरकारले गरेका यस्ता सहायताहरु, प्रदान गरेका राहतहरु प्रदान गर्नका लागि हामीले समन्वयकारीको भूमिका निर्वाह गर्छौं ।

समाजः अबका दिनमा अन्य योजनाहरु के–के छन् ?
प्रजिअ पाण्डेः
हेटौंडाभित्रका पसलहरुलाई अल्टरनेटिभरुपमा खोल्ने भनेर निर्णय गरेका छौं । जसले भिडभाड नियन्त्रण गर्न सहयोग पुर्‍याउनेछ । त्यसैगरी हामीले बढी भिड हुने, सेवाप्रवाह गर्ने कार्यालयहरु तत्काललाई बन्द गर्ने भनेका छौं । यसरी हामीले क्रमशः आवश्यकताअनुसार निर्णय गर्दै जानेछौं ।