हाँस्यव्यङ्ग्यकार भैरव अर्याल ।

(सन्दर्भः भैरव अर्याल जन्मजयन्ती)
बिपनामा नभेटेको व्यक्ति सपनामा आउँदा सशरीर भेटेझैं भान हुँदो रै’छ । हिजो राती आदरणीय दाजु भैरव अर्यालसँग पशुपति गेटमा भेट भयो । मलाई त ढुंगा खोज्दा देउता मिलेझैं लाग्यो । उही जीउँदो छँदाको पोशाक (पुरानो दौरा सुरुवाल, कोट, थोत्रा जुत्ता, घेरा उध्रेला झैंको भादगाउँले टोपी ढल्काएका) मा । मैले नेपाल आगमनको कारण सोधेँ । उहाँले, “नेपाल कस्तो भएछ भनी हेर्न आएको त मैले व्यङ्ग्य लेख्दाको अवस्थाभन्दा झन गए गुज्रेको पाएँ । तिमीहरू टुलुटुलु के हेरिरहेका लेखकको कर्तव्य पूरा गर्नु पर्दैन ?” भन्दै पो झाँटे ।

आरसी रिजाल

मैले, “हामीले नलेखेका हैनौं । तर ती विकृतिबाहकका कानमा बतासै पस्दैन । कतै हाम्रो हाँस्यव्यङ्ग्य लेखाइको स्तर नपुगेको पो हो की ? उ त्यो बेञ्चमा गएर बसौं” भनेँ । बेञ्चमा बस्नासाथ उहाँले, “ल यो लेख कुनै पत्रिकामा छपाइदेउ” भनेर एउटा चिरकटो थमाउनु भयो । मैले, “कति छोटो लेख ?” भनेको त उहाँले, “लेखलाई लम्बाई, चौडाई, मोटाई, छोटाईको हिसाबले नाप्ने हैन । यसले समाजको खोटमा कत्तिको चोट पुर्‍याउन सफल छ त्यसबाट मूल्यांकन हुनुपर्छ” भन्नुभयो । मैले, “हाम्रो लेखाई प्रभावकारी नभएको हो कि ? सुझाव सल्लाह पाएँ ल” भने ।

“हाँस्यव्यङ्ग्यका लेखक अगाडि बढ्न पहिलो कुरा, अरुको (स्वदेशी वा विदेशी लेखक) पुस्तक खोजीखोजी पढ्नु पर्छ । जति पढ्न, लेख्न सक्यो उत्तिकै खारिँदै जाइन्छ । दोश्रो, लेखकले शिर्षक र पात्रको नाम छनौट, उखान टुक्काको मुक्का, अनुप्रास आदिमा ख्याल पुर्‍याउनु पर्छ । जबर्जस्ती अनुप्रास मिलाउने र कनेर लेख्ने गर्नु हुँदैन । म त त्यस्तालाई बरु नलेख्नुस् भन्छु । तेस्रो, सुरुवात हरफबाटै पाठकको मन तान्ने र अन्तिम हरफतिर पुग्दा ‘आहा’ भन्ने पार्न सक्नुपर्छ ।

“भैरव दाजु, पात्र छनौटको कुरामा लेखकहरुको आ–आफ्नै भनाइ राख्छन् । यसमा तपाईंको भनाइ ?” भन्दा उहाँले, “लेख्दा पीडित, गरिब, दुःखी, शारीरिक विकृति, नारी आदिलाई पात्र तुल्याउन हुँदैन । फेरि यस्ता पात्र नभई पनि भएन । त्यसैले यस्ता पात्र उतार्न सकिन्छ तर तिनको खिल्ली उडाई क्षणिक हाँसोको पात्र तुल्याउन पाईदैन । जस्तो लङ्गडोको अगाडि खोच्याएर हिँड्ने, भक्भके अगाडि भकाउँदा उनिहरुलाई पीडा हुन्छ । अर्कोतिर हल्का हाँसो प्रस्तुत गर्नु हुँदैन । हिजोआज हाँस्यव्यङ्ग्यको नाममा नारा फलाकेको, गाली ओकलेको देखिन्छ र सुनिन्छ । यस्ता गाली साहित्यले तत्काल ताली त पाउँछ । तर कालजयी रहँदैन । कतिपय तिम्रो लेखकै उदाहरण दिन सक्छु म” भन्नुभयो ।

बुढाले मनमा चसक्क त पार्दै तर आँखा उघार्दै । मैले, “समाजमा भनौं वा राष्ट्रमा विकृति, बिसंगति फैलाउनेलाई ताकेर धतुरो झार्दा के फरक पर्ला ?” भनेको त उहाँले, “व्यङ्ग्यले कुनै व्यक्ति विशेष, समूह वा जाति माथि घृणा पैदा गर्नु हुँदैन । हामीले त त्यस्ता प्रवृत्ति माथि हान्न सक्नुपर्छ । पढ्दा पात्रले उसैलाई हान्यो भनी ठानोस् । अर्थात् एकातिर हानेझैं गर्ने तर झटारो ठिक ठाउँमा पार्ने । व्यङ्ग्यको मूल उद्देश्य समाजको आलोचना हो । अर्थात हाम्रो लेखले समाजसँग सरोकार राख्न सक्या छ÷छैन् । कारण हाम्रो लेख मनुस्यको सुन्दर भविष्यप्रति लक्षित हुनैपर्छ । भ्रष्ट र क्रुर व्यवस्थाका सिकार भएकाहरुप्रति संवेदनशील हुनु उत्तिकै जरुरत पर्दछ”, भन्दैथे मैले, “यसो इन्टर्भल गरेर हल्का…” मात्र के भनेथेँ उहाँले खल्तिबाट फुलमार चुरोट बट्टा झिक्दै, “ठिक भनिस्” भनेर धुवाँ फुक्न थाल्नुभो ।

चुरोट तानेर देखेर मैले, “भैरव दाजु मनुष्यलाई उज्ज्वल भविस्यको बाटो देखाउने सर्जकले चुरोट, गुहेश्वरीको जल (भैरवले सोमरसलाई) सेवन गर्नुलाई के ठान्नु हुन्छ ? भने ।

“लेखक पनि यहि समाजको उपज हो । कुलतमा पर्न सक्छ । हेर तिम्रै अगाडि धुवाँ फुक्दै छु म । कथनी र करनीलाई ठ्याक्कै जीवनमा उतार्न सक्ने सर्जक त समाजमा उदाहरणीय ठहर्छ । त्यस्ता सर्जक त शिला खोज्नु पर्छ । त्यसै भएर लेखकको पुस्तक पढ्नु, तर उसलाई नभेट्नु । नत्र पाठकको मन खिन्न हुनसक्छ भन्ने भनाइ पनि छ । अर्को चुरो कुरो लेखकको हृदय सफा, स्वच्छ हुनपर्छ । मनमा पूर्वाग्रह, कुण्ठा, घृणालाई स्थान दिनु हुँदैन । यस्ता कुराले प्रश्रय पाए उत्कृष्ट व्यङ्ग्य जन्मदैन ।”

एकछिन आकाशतिर हेरेर टोलाउनु भयो र झसङ्ग भएझैं गर्दै, “ओहो हाँस्यव्यङ्ग्यको मूल विषय झण्डै छुट्या । लेखकले एकोहोरो व्यङ्ग्यको पीडा मात्र पस्कँदा पाठकको मन कोक्याउन थाल्छ । यस्तोमा हाँस्यको लेपन लगाउन सक्नु पर्छ । कुन ठाउँमा हाँस्य र कुन ठाउँमा व्यङ्ग्य प्रस्तुत गर्ने, यसको सन्तुलन मिलाउने खुबी लेखकमा हुनपर्छ । अनि…। “यत्तिकैमा मन्दिरमा कसैले बजाएको घण्टाको आवाजले म झल्याँस्स व्युँझिएछु । अर्को पटक सपनामा आए भने छुटफुट के–के सोध्नुपर्ला ? सुझाव पाउँ न ।