संगीत श्रेष्ठ, अध्यक्ष रोशनी पुस्तकालय, हेटौंडा–४, कमलडाँडा

महत्वपूर्ण पाठ्य सामग्रीको स्रोत हो पुस्तकालय । विभिन्न विषयका पाठ्य पुस्तकको सङ्ग्रहालयको रुपमा पनि पुस्तकालयको महत्व छ । आधुनिक सूचना प्रविधिको विकासले पुस्तकालयको स्थापना र प्रयोगमा कमि आइरहेको छ । भदौ १५ गते सोमबार तेह्रौं राष्ट्रिय पुस्तकालय दिवस हो । सोमबार ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका साथ नेपालमा पुस्तकालय दिवस मनाइएको छ । यद्यपि विश्वव्यापी कारोना महामारीका कारण भौतिक रुपमा उपस्थित भएर पुस्तकालय दिवस मनाउने अवस्था छैन । पुस्तकालय दिवसकै अवसरमा हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठसँग संगी लामाले गर्नुभएको कुराकानीः

समाजः १३ औं पुस्तकालय दिवस हेटौंडामा कसरी मनाउनुभयो ?
श्रेष्ठः अहिले कोभिडको महामारी र जारी निषेधाज्ञा भएको कारण यो पटक कुनै पनि औपचारिक कार्यक्रमहरु हुन सकेन ।

समाजः हेटौंडामा पुस्तकालयको अवस्था कस्तो छ ?
श्रेष्ठः अहिलेको अवस्थामा हेटौंडाका धेरै पुस्तकालयहरु बन्द रहेका छन् । साना तिना पुस्तकालयहरु पनि बन्द छन् । अहिले ३ वटा पुस्तकालय सञ्चालनमा छन् । एउटा पुष्पलाल पार्कको पुष्पलाल पुस्तकालय, एउटा चिल्ड्रेन पार्कमा छ पुस्तकालय र कमलडाँडाको रोशनी पुस्तकालय सञ्चालनमा छन् भने अरु पुस्तकालयहरु छुटपुट रुपमा कहिलेकाही खुलिरहेका छन् । तर नियमीत रुपमा भने खुलेको पाइएको छैन ।

समाजः अहिलेको कोभिडका कारण पुस्तकालयहरु बन्दा हुँदा पाठकहरुले कसरी पढ्न सक्छन् ?
श्रेष्ठः अहिलेको अवस्थामा जटिल नै छ । हामीले पत्रपत्रिका नयाँ पुस्तकहरु आउँदासम्म पुस्तकालय खोलेका थियौं । अहिले यस्तो अवस्थामा हामीले नियमित पाठकहरुलाई पुस्तक केही दिनको लागि उपलब्ध गराएर घरमै बसेर पढ्न भनेका छौं । उनीहरुलाई पुस्तक उपलब्ध गराउन हामीले सम्पर्क व्यक्ति पनि राखेका छौं । उनीहरुले पुस्तक लिएर जानुहुन्छ अनि पढेर फिर्ता गरिदिनुहुन्छ ।

समाजः पुस्तकालयहरुलाई अझ विस्तार गर्न के गर्नुपर्छ ?
श्रेष्ठः अहिले जुन ३ पुस्तकालयहरु छन् । ती पनि जम्मा ४ घण्टा मात्र खुल्छन् । पुष्पलालको पनि कार्यालय समयमा मात्र खुल्छ जुन शनिबार खुल्दैन, बिदाका दिनहरुमा खुल्दैन । हामीले पुस्तकालयको सुविधा चै २४ घण्टा दिन सक्ने योजना बनाउन आवश्यक छ । हामीसँग ३ सिफ्ट गरेर खोल्न सक्ने स्रोत, साधन नभएका कारण अहिलेको तीन चार घण्टाको समय चै पाठकहरुलाई पुगेको छैन । समाजमा अहिले पुस्तकालयको महत्व चाख घट्दै गएको कारण पनि अहिले पुस्तकालयहरु कतिपय बन्द भएका छन् । अहिलेको युवाहरुमा सिक्न चाहने, खोज अनुसन्धान गर्ने ज्ञान पनि घट्दै गएको पाएका छौं । यस्ता कुराहरुलाई हटाएर समाजमा पुस्तकालयको महत्व बुझाउन सक्नुपर्छ ।

समाजः पुस्तकालय दिवसको अवसरमा पाठकहरुलाई कसरी सम्झिनुहुन्छ ?
श्रेष्ठः यस वर्षको पुस्तकालय दिवसको नारा ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ राखिएको छ । पक्कै पनि हाम्रो देशको इतिहास हेर्दा पनि पुस्तकालयले अहम् भूमिका खेलेको पाइन्छ । समाज रुपान्तरणमा पुस्तकालयको योगदान छ । सम्पूर्ण पाठकहरुलाई म के भन्न चाहन्छु भने हामीले हाम्रो समाजमा भएका पुस्तकालयको संरक्षण गरौं । पुस्तकालयहरुलाई अझ थप प्रभावकारी बनाउन सुझाव पनि दिने गरौं । अहिलेको युवा पुस्ताहरुमा पनि पुस्तकालयको महत्व बुझाउनुपर्छ । यस्तो कार्यको थालनी आफ्नो घरबाटै सुरु गर्नुपर्छ ।