गुगल तस्वीर ।

सन्दर्भः तेह्रौं पुस्तकालय दिवस
पुस्तकालय शब्द आफैंमा अर्थपूर्ण शब्द रहेको छ । संस्कृत भाषाको पुस्तक र आलय दुई शब्दको मिश्रणबाट यो शब्द निर्माण भएको छ । जसमा पुस्तकको अर्थ किताब र आलयको अर्थ घर पुस्तक वा किताबहरु सङ्ग्रहित घर नै पुस्तकालय हो भन्ने सामान्य अर्थ यस शब्दबाट नै जानकार रहन सकिन्छ । सूचना एवम् ज्ञानका सामाग्रीहरु सङ्ग्रह गरेर राखिने हुँदा यसलाई ग्रन्थालय पनि भनिन्थ्यो । आजको विश्वमा पुस्तकालयलाई यति मात्र भनेर परिभाषित गर्दा अपूर्ण हुन जान्छ । पुस्तकालय किताब मात्र होइन समग्र ज्ञान तथा सूचनाको भण्डारको रुपमा परिवर्तन भइसकेको छ । व्यवस्थित भवन भित्र व्यवस्थित सङ्कलनले भरिएको विशेष पुस्तक एवम् सूचना सामग्रीहरु जुन पाठकले अध्ययन गर्ने एवम् लेनदेन गर्ने गरी व्यवस्थापन गरिएको हुन्छ । साथै आधुनिक सूचना प्रविधियूक्त रहेको हुन्छ । यसलाई पुस्तकालयको रुपमा चिनिन्छ । आजभोलि डिजिटल रुपमा विभिन्न सामग्रीहरु अध्ययन गर्न सकिन्छ जसलाई डिजिटल लाइब्रेरी । ई–लाईब्रेरी आदि नाम पनि दिइन थालिएको छ । जसले भौतिक सामग्री भन्दा डिजिटल सामग्रीहरुको प्रयोग बढाउन पनि मद्दत गरिरहेको छ ।

गोविन्द चौलागाई

पुस्तकालय नाम नरहे तापनि मानव सभ्यता विकास भएसँगैका पुराना कुराहरुलाई सङ्ग्रहित गरेर राख्ने चलन चलाएको पाइन्छ । जसले गर्दा पछिल्लो पुस्ताहरुलाई अगाडिका बारेमा जानकारी हुँदै आयो । यसै क्रमलाई व्यवस्थित गरी विभिन्न ऐतिहासिक दस्तावेज, मुद्रा, पुरानो हातहतियारहरु सङ्ग्रह गर्ने क्रियाकलापहरु गरिएको देखिन्छ । इतिहासहरुलाई माटोमा लेख्ने, विभिन्न शिलाहरुमा लेख्ने प्राचीन कालदेखि नै गरिएको पाइन्छ । नेपालमा पुस्तकालयको विकास कहिलेदेखि भयो भनेर तोक्न त सकिन्न तर विभिन्न मठ, मन्दिर, गुम्बा, विहार, आदिमा शिलालेख ताम्रपत्र खोजपत्र आदिमा लेखिन्थ्यो पनि इतिहासबाट ज्ञान हुन्छ । यिनीहरु नै नेपालको प्राचीन पुस्तकालय थिए भन्न सकिन्छ । मध्यकालमा नेपालमा ग्रन्थालय, ग्रन्थ कुटी आदि नामले पुस्तकालयलाई चिनिन्थ्यो । मल्ल राजाहरु अध्ययन एवम् सङ्कलनमा रुची राख्दथे भन्ने कुरा इतिहासबाट पुष्टि भएको छ । त्यसमा समयमा नेपाल भ्रमण गरेका एवम् इतिहासकार कक पेट्रिकले भक्तपुरलाई ‘नेपालको वणारशी’ भनेसँगै राम्रै पुस्तकहरुको सङ्कलन रहेको थाहा हुन आउँछ ।

नेपालमा २०६५ सालबाट भाद्र महिनाको १५ गते पुस्तकालय दिवस मनाउने गरिन्छ । तत्कालिन नेपाल पुस्तकालय संघको अध्यक्ष्ँ भोलाकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा प्रथम पुस्तकालय दिवस मनाइएको थियो । जसको आयोजना नेपाल पुस्तकालय संघ र प्रमुख अतिथिको रुपमा तत्कालिन शिक्षामन्त्री रेणुकुमारी यादव रहनुभएको थियो । पुस्तकालय दिवससँग नेपालमा पुस्तकालय इतिहास जोडिएको छ ।
पृथ्वीनारायण शाहले युद्धबाट काठमाडौं उपत्यका विजय गरे पश्चात नुवाकोट दरबार, गोरखा दरबारबाट भक्तपुर तथा जहाँ–जहाँ विजय गरे त्यहाँको हस्तलिखित ग्रन्थहरु हनुमानढोकास्थित दरबारको पुजाकोठामा राखियो । यसरी सङ्ग्रह गरिएको केही वर्षपछि अघोषित राजकीय पुस्तकालयको दर्जा पायो । राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८६९ भदौ १५ (सन् १८१२ अगष्ट २८) गते ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियमको लालमोहर जारी भयो । जसमा ‘चिताइ’ भन्नाले रेखदेख र ‘तहविल’ को अर्थ सङ्ग्रह हुन्छ । यसै लालमोहरबाट नेपालको इतिहासमै सर्वप्रथम पुस्तकालयले कानुनी मान्यता पायो । जसको फलस्वरुप आज पनि हामी भदौ १५ गते पुस्तकालय दिवसको रुपमा मनाइरहेको छौं । विश्वको इतिहास हेर्ने हो भने पनि हामी धेरै ढिला छैनौं । किनकी हाल विश्वकै सबैभन्दा ठूलो पुस्तकालय “लाईब्रेरी अफ कंग्रेस” को स्थापना सन् १८०० मा भएको थियो । यसको ठीक १२ वर्ष पछाडि नेपालमा पनि पुस्तकालय सम्बन्धी लालमोहर जारी भएको पाइन्छ ।

नेपालको पहिलो पुस्तकालय तहविलदार (लाइब्रेरियन) पण्डित केदारनाथ झालाई वार्षिक रु १२५ दिने गरी नियुक्त गरिएको थियो । यसर्थ राजा गिर्वाणयुद्ध विक्रम शाहले नेपालमा पुस्तकालयको सुरुवात गराएका थिए । त्यतिबेला तहविलदारको काम दैनिक पुजाआजा गर्नु, पुस्तक आदि सामग्रीको रक्षा गर्नु, किरा मुसाबाट जोगाउनु रहेको थियो । यसपछि राणा प्रधानमन्त्री जङ्गबहादुरले सन् १९०४ मा ‘पुस्तक चिताइ तहविलका’ पुस्तकहरु थापाथली दरबारमा सारी खड्गराम जोशीलाई लाईब्रेरियन नियुक्त गरेका थिए । त्यसैगरी १९५३ मा वीर शमशेरले सो पुस्तकालयलाई दरबार स्कूलमा सारे र यसैलाई दरबार लाईब्रेरीको नामले चिनियो । पछि १९५७ मा यसलाई घण्टाघरमा निर्मित नयाँ भवनमा सारियो र वीर पुस्तकालय नाम दिइयो । वीर शमशेरको पालादेखि पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला गरियो । अहिले यी पुराना सामग्रीहरु रामशाहपथको राष्ट्रिय अभिलेखालयमा संरक्षित रहेका छन् ।

नेपालमा प्रजातन्त्र आउनुपूर्व सामाजिक रुपमा पुस्तकालय स्थापना गर्नु भनेको अपराध सरह ठानिन्थ्यो । विसं १९८७ को कुरा हो सम्पूर्ण विश्वमै शिक्षामा अगाडि बढिरहेको समयमा नेपालमा लक्ष्मीप्रसाद देवकोटा लगायत ४६ जना युवाहरु मिली पुस्तकालय खोल्ने अभियानमा लागेका थिए । जसको नामाकरण ‘सरस्वती गुठी’ राखेका थिए । यसको सुइँको राणा प्रधानमन्त्रीले पाएपछि सम्पूर्णलाई राजाको राजगद्दी ताकेको आरोपमा राजद्रोहको मुद्दा समेत चलाएको थियो । जुन लाइब्रेरी पर्वको नामले चिनिएको छ ।
प्रजातन्त्र पश्चात नेपालमा पुस्तकालयहरु धेरै स्थापना भए । ती मध्ये केहीले हालसम्म पनि महत्वपूर्ण योगदान गरिरहेका छन् । विसं २०१३ मा राजगुरु हेमराज पाण्डेको निजी पुस्तकालय नेपाल सरकारले खरिद गरि नेपाल राष्ट्रिय पुस्तकालय नामारण गरियो । २०१६ मा त्रिभुवन विश्वविद्यालय स्थापना पश्चात त्रिभुवन विश्वविद्यालय पुस्तकालयको स्थापना गरियो र पछि विसं २०२९ मा केन्द्रीय पुस्तकालय समेत गरिएर त्रिवि केन्द्रिय पुस्तकालय स्थापना भयो । हालसम्म नेपालकै ठूलो एवम् खोज अनुसन्धानकर्ताको लागि महत्वपूर्ण पुस्तकालय रहेको छ । यस्तै नेपालको केशर पुस्तकालय अर्काे महत्वपूर्ण पुस्तकालय हो । फिल्ड मार्शल केशरशमशेरले विसं १९६६ देखि आफूले सङ्कलन गरेर राखेको निजी पुस्तकालय उनको मृत्यु पश्चात उनकी श्रीमती कृष्णचन्द्र देवीले विसं २०२६ मा नेपाल सरकारलाई हस्तान्तरण गरिन् । जुन केशरमहल अन्तर्गत रहेको छ । जुन ठाउँमा केही वर्ष अघिसम्म शिक्षा मन्त्रालय पनि रहेको थियो । अहिले पनि ऐतिहासिक सामग्रीहरुको अध्ययन गर्न चाहनेहरुका लागि केशर पुस्तकालय महत्वपूर्ण रहेको छ ।
नेपालमा प्रजातन्त्र प्राप्तीसँगै धेरै पुस्तकालयहरु खुले र तत्कालिन रुपमा महत्वको साथ व्यवस्थापन गरियो । तत्कालीन वौद्धिक जमातले यसको उपयोग पनि राम्रै सँगै गरी २०४६ सालको जनआन्दोलनलाई महत्वपूर्ण टेवा पुर्‍याएको मानिन्छ । पुस्तकालमा काम गर्ने पुस्तकालयकर्मीहरु एकजुट भई विसं २०१० सालमा नै नेपाल पुस्तकालय संघ गठन भएको भए तापनि बीचमा निष्क्रिय भए पश्चात २०३७ सालमा पुनर्गठन भई आजको दिनसम्म पुस्तकालयकर्मीको क्षमता अभिवृद्धि गर्न र पुस्तकालय योगदान निरन्तर पुस्तकालय संघले गर्दै आइरहेको छ । हालको अवस्था मध्यनजर गर्दै यसलाई महासंघ बनाउन जरुरी पनि देखिएको छ । नेपालको परिवर्तनमा भूमिका खेलेको पुस्तकालय क्षेत्र भने सरकारी तवरबाट प्रत्यक्ष रुपमा उपेक्षित हुँदै आएको महसुस प्रत्यक्ष रुपमा गर्न सकिन्छ ।

“सबैका लागि पुस्तकालय” भन्ने नाराको साथमा नेपाल पुस्तकालय संघको आयोजनामा २०६५ बाट पुस्तकालय दिवस मनाउन सुरु गरियो । त्यसैगरी ‘पुस्तकालय विकास, नयाँ नेपालको निकास’ भन्ने नाराको साथ विसं २०६६ भाद्र १५ गते दोस्रो पुस्तकालय दिवस मनाइयो । त्यस्तै “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” विसं २०६७ भाद्र १५ गते तेस्रो पुस्तकालय दिवस मनाइयो । ‘समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय’ नाराका साथ विसं २०६८ भाद्र १५ मा चौथो पुस्तकालय दिवस मनाइयो । त्यसैगरी “पुस्तकालय जाऔंः पढ्ने बानी बसालौं” भनी पाँचौं पुस्तकालय दिवससम्म नेपाल पुस्तकालय संघ एवम् पुस्तकालयसँग सम्बन्धित विभिन्न संघ, संस्थाहरुको सहयोगमा मनाइसके पश्चात विसं २०७० नेपाल सरकारले पुस्तकालय तथा समन्वय शाखा गठन गरी पुस्तकालय दिवस आयोजना सरकारी तवरबाटै गर्ने चलन सुरुवात भयो । त्यस पश्चातको पुस्तकालय दिवसको नाराहरुलाई क्रमशः मैले राख्ने जमर्काे गरे

छैठौं पुस्तकालय दिवस–२०७०, “एक ठाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय”
सातौं पुस्तकालय दिवस–२०७१, “पुस्तकालय विस्तार सभ्य समाजको आचार”
आठौं पुस्तकालय दिवस–२०७२, “पुस्तकालयलाई माया गरौं, पुस्तकालयको विकास गरौं”
नवौं पुस्तकालय दिवस–२०७३, “जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय”
दशौं पुस्तकालय दिवस–२०७४, “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय”
एघारौं पुस्तकालय दिवस–२०७५, “समृद्ध पुस्तकालयः सुदृढ समाज”
बाह्रौं पुस्तकालय दिवस–२०७६, “पठन संस्कृति पूर्वाधारः पुस्तकालयको विकास र विस्तार”
तेह्रौं पुस्तकालय दिवस–२०७७, “समाज रुपान्तरणको लागि पुस्तकालय”

निश्चयनै पुस्तकाल हुनु भनेको समग्र समुदायको चेतनास्तरमा वृद्धि ल्याउने एक खुड्किलो थपिनु हो । यसका लागि आज तेह्रौं पुस्तकालय दिवसमा आइपुग्दा यस्ता नाराहरुको प्रयोग भइसकेको छ । जुन नाराको भावना नेपाल सरकारले कदर गरी यही अनुरुप नीति कार्यक्रम पनि हरेक वर्ष तयार गर्दै जाने हो भने आज हाम्रो देशमा प्रत्येक शहर एवम् गाउँहरुमा व्यवस्थित पुस्तकालय स्थापना भैसकेका हुने थिए । समाजका हरेक नागरिक आफ्नो समयको सदुपयोग पुस्तकालय बसी विभिन्न क्ष्ँेत्रको ज्ञान हासिल गरिरहेका हुन्थे । विभिन्न खोज अनुसन्धान सिर्जनात्मक क्रियाकलापहरु पुस्तकालयबाट भइरहेका नारा मात्रै होलान् । यदि यी हालसम्मका नाराहरु नारामात्रै नभइदिएर वास्तविकता भएदिएर हाम्रो देशको सामाजिक स्वरुप नै अर्काे हुने थियो । पठन संस्कृतिको वृद्धि हुने थियो । देशमा भित्रिएको प्रविधिको सदुपयोग पनि हुने थियो । तसर्थ राज्यले अर्काे सालको नारा राख्ने भनेर साँच्ने मात्र होइन, अब पहिलादेखिकै नारा दोहोर्‍याउनुपर्ने अवस्था भएको छ । जुन नारा यस आर्थिक वर्षमा पूरा गर्न सकिन्छ । त्यस्ता नाराको मात्र छनौट गर्न म सरकारलाई अनुरोध पनि गर्न चाहन्छु ।

पुस्तकालय क्षेत्र एक बृहत सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रको समुचित व्यवस्थापन विकास र विस्तार बिना पूर्ण विकसित समुदाय एवम् राज्यको परिकल्पना पनि गर्न सकिँदैन । यसका लागि नेपाल पुस्तकालय दिवसमा आजसम्म गरी राखिइएको १३ वटै नाराको भावनालाई योजनागत रुपमा अघि बढाउने हो भने हामीले सोचेजस्तो पुस्तकालय प्रत्येक विद्यालय नगरपालिका, वडा र टोलटोलमा स्थापना गर्ने र त्यसलाई व्यवस्थापन गर्ने योजनासहित अघि बढ्ने हो भने पुस्तकालय क्षेत्र राज्यको एक अभिन्न अङ्ग हुनेछ । जसले समाज विकास महत्वपूर्ण योगदान पनि दिनेछ ।

नेपाल पुस्तकालय विज्ञान औपाचरिक रुपमा विसं २०५२ बाटै सुरु भएको सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ । सुरुमा एक वर्षे स्नातक तह अध्ययन गरिए पनि विसं २०५९ देखि (एमएलआइएस) पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तर समेत पढाइ भइरहेको छ । विसं २०५५ साल पश्चात (सिटिईभिटी) पुस्तकालय सञ्चालन सम्बन्धी तह–३ तालिम सुरु भए पश्चात हाल हजारौं पुस्तकालयकर्मीहरु उत्पादन भइसकेका छन् । जसले पुस्तकालयको व्यवस्थापन र विकासमा प्राविधिक सहयोग गर्न सक्दछन् ।

पुस्तकालय क्षेत्रको विकासका लागि यसो गर्नु जरुरी देखिन्छ ।
१) पुस्तकालय विभागको स्थापना गरी योजना एवम् विकासको काम गर्ने ।
२) हरेक स्थानीय तहमा पुस्तकालय निर्माणका लागि अनिवार्य बजेट छुट्याउन लगाउने ।
३) पुस्तकालय विज्ञानको कक्षा ११ देखि पाठ्यक्रम निर्माण भैसकेको सन्दर्भमा अवसर बढे विद्यार्थी बढ्ने निश्चित छ । विद्यालयमा पुस्तकालयकर्मीको छुट्टै दरबन्दी सिर्जना गर्ने ।
४) अन्य देशको पुस्तकालय विकास अध्ययन गरी नेपालको माटो सुहाउँदो विकास गर्न एक विज्ञ कार्यदल गठन गर्ने ।
५) आफ्नो गाउँ, टोल, समाजमा रहेको पुरानो पुस्तकालयहरुलाई सबै नागरिक मिली आधुनिक बनाउने र राजयको ध्यान नपुगेको ठाउँमा सचेत नागरिकको पहलमा सार्वजनिक पुस्तकालय बनाउने ।

नेपालमा अन्य क्षेत्रमा जस्तै २०७२ सालको महाभूकम्पले पुस्तकालय एवम् सग्रहालयहरुमा अतुलनीय क्षति भएको छ । नेपालको एकमात्र राष्ट्रिय पुस्तकालय जुन २०१३ मा स्थापना भएको थियो । आज अभिभावकविहिन सरह रहेको छ । अरु सम्पूर्ण कुराहरु पुनःनिर्माण भई सम्पन्न हुन लागी सक्दा नेपालको इज्जतको रुपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय बन्न सकेको छैन । २०७५ साल असोज २८ गते बसेको मन्त्रीपरिषद् बैठकले आधुनिक र कलात्मक भवन जमलस्थित खाली सरकारी जग्गामा बनाउने भनी सम्पूर्ण नक्साङ्कन गरी शुभमुहूर्त गर्ने तयारी भइरहेको बेलामा पुनः २०७७ साउन ५ गते बसेको मन्त्री परिषद् वैठकले सो पुस्ताकालय भवन निर्माण स्थगन गर्ने निर्णय गरेको छ । जुन दिनलाई सम्पूर्ण पुस्तकालयकर्मीले पुस्तकालय इतिहासकै कालो दिनको रुपमा लिएको छ । पुस्तकालयको विकासमा पाइला अगाडि बढाउनुपर्नेमा हुन लागेको विकासमा नै अवरोध गर्ने निर्णय खेदजनक रहेको छ ।
अन्त्यमा पुस्तकालय समग्र समुदाय विकासमा अग्रमी भूमिका खेल्ने स्थान हो । यसको विकास, सम्वद्र्धनमा सबैजना आआफ्नो ठाउँबाटै भूमिका खेन्न जरुरी छ । हरेक स्थानीय तहका जनप्रतिनिधीले यसको विकासमा भूमिका खेल्ने हो भने छिट्टै हामी लक्ष्यमा पुग्न सक्छौं । राज्यले पनि यस क्षेत्रलाई भदौ १५ गते १ दिन मात्र मनाउने होइन । यसको समग्र विकास र विस्तारमा योजनाबद्ध कार्यक्रम अनि सो योजनाको कार्यान्वयनमा जाने हो भने पुस्तकालयको मद्दतले राज्यको विकासमा योगदान मिल्न सक्छ ।
जय देश । जय पुस्तकालयकर्मी ।

(लेखक नेपाल पुस्तकालय संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।)