कोभिड–१९ ले विश्वलाई क्षति पुर्याएको यथार्थ भित्र सम्भावनाहरुको खोजी गरिनु आवश्यक छ । विध्वंसबाट नयाँ निर्माणको अपेक्षा गरिन्छ । यस्तै कोभिडले विश्व अर्थतन्त्रदेखि सामाजिक तथा राजनीतिक रुपमा पुर्याएको क्षतिका आधारमा नयाँ निर्माण मार्फत नयाँ युगको सुरुवात गर्न सक्नु पर्दछ । विकसित प्रविधिको उच्चतम प्रयोग गरी नयाँ अवसरको श्रृजना आजको आवश्यकता हो । मानव जीवनका सबै पक्षमा नयाँ अवसरको खोजिको सम्भावना महामारीले ल्याईदिएको छ, जसलाई सत्ता सञ्चालकदेखि राज्यको समग्र इकाईले पछ्याउन सक्नु पर्ने छ । त्यस्तै अवसर मध्ये कृषि क्षेत्रका लागि नयाँ नीति र योजना बनाउन सकिन्छ । कोरोनाका कारण कृषि क्षेत्रमा पुगेको क्षति न्युनीकरण गर्न नेपालमा पनि सरकारले नीतिगत तहबाट कदम चाल्न विज्ञहरुले दिएको सुझावको मनन् हुनु पर्दछ ।
नेपाल कृषि अर्थशास्त्र समाजले गरेको छलफलमा सहभागी देशभरका कृषि विज्ञ र सरोकारवालाका विचार कार्यक्रमका लागि मात्र सीमित पारिनु हुँदैन । नीतिगत तहमा बसेकाहरुले आफ्नो मात्र चिन्तन भन्दा विज्ञहरुका सुझावलाई व्यवहारमा लागु गर्न तत्पर हुनु पर्दछ । सामुहिक चिन्तनबाट बनेको ठोस योजनाले मात्र नागरिक जीवनमा प्रभाव पार्न सक्छ । त्यस माथि पनि सङ्कटपछि नेपाली समाजको अवस्था आजै कल्पना गर्न सकिँदैन । कोरोनाको महामारीले कस्तो रुप लिँदै कहिलेसम्म समाजलाई बिथोलिरहने भन्ने अनुमान छैन । तसर्थ कठिन अवस्थापछि देशलाई कसरी उठाउने भन्ने ठोस योजना बनाउन सक्नु नै दूरदर्शिता हो । यसका लागि आजैबाट योजना बनाउने र त्यसका लागि साधन र श्रोतको व्यवस्थापन गर्ने हो भने कोभिड सकिँदै गर्दा नेपाली समाजले ठूलो क्षतिको अवस्थाबाट बच्न सक्ने छ ।
कोभिडले गर्दा बढ्दै गएको बेरोजगारी न्यूनीकरणमा कृषि क्षेत्र महत्वपूर्ण हुने छ । यसका लागि सहुलियतपूर्ण कृषि कर्जाको प्रबन्ध गर्दै युवालाई नयाँ प्रविधियुक्त खेती प्रणालीका लागि सहजीकरण गर्न सक्नु पर्दछ । उत्पादित वस्तुको बजारीकरण, न्युनतम समर्थन मूल्यसहितको रणनीतिक सुधार आजको खाँचो हो । बाँझो जमिनको सदुपयोग, खेति प्रणालीमा सुधार, सूचना प्रविधि, उच्च प्रविधी, कृषि सामग्रीको उपयोगिता जस्ता विषयमा नीतिगत निर्णय गरिनु पर्दछ । तब मात्र व्यावसायिक खेती प्रणालीको विकास भई उत्पादकत्व बृद्धि हुँदा बेरोजगारी कम हुने तथा खाद्यान्न गरिद गर्नुपर्ने बाध्यता अन्त्य गर्न सहयोग पुग्ने छ । कोभिडका कारण रोजगारी गुमाएका हुन् वा विदेशबाट फर्किएका युवालाई कृषि उत्पादनमा उपयोग गर्ने रणनीति बनाउन सक्नु पर्दछ ।
यतिबेला कोभिडको महामारीले मात्र होइन नेपाली कृषकहरु युरिया मलको समेत मारमा परेका छन् । सरकारले स्पष्ट नीति लिन नसक्दा आज किसानहरु समस्यामा परेको अवस्था छ । आजसम्म जस्तो कृषि नीति बन्यो त्यसबाट नेपालमा व्यावसायिक खेती सम्भावना न्यून छ । त्यसैले नयाँ रणनीति आवश्यक बन्दै गएको छ । राजनीतिक नेतृत्वले सबै क्षेत्रको विज्ञता राख्दैन । त्यसैले सम्बन्धित क्षेत्रका जानकारहरुसँगको परामर्शबाट आउने निष्कर्षलाई नीति निर्माणमा सहयोगी बनाउने हो भने नेपाल फेरी अन्नबाली निकासी गर्ने अवस्थामा पुग्ने छ । तर दृढ ईच्छाशक्ति नेतृत्वमा आवश्यक छ । सुझावका लागि गरिएका कार्यक्रमहरुलाई औपचारिकतामा मात्र सीमित नगरी नीतिगत तहबाटै लागु गर्ने हो भने मात्र कोभिड पछिको नेपाली कृषि क्षेत्रले नयाँ फड्को मार्न सक्ने छ ।