फुड बैंकको उद्घाटनमा आज एक विपन्नलाई खाद्यान्न सहयोग गरिँदै ।

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले आजबाट हेटौंडामा ‘फुड बैंक’ सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैंक सञ्चालन गरेको फाउण्डेसनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्दै फुड बैंकमा सबैले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । आजबाट सञ्चालनमा आएको फुड बैंकको व्यवस्थापन गर्न ५ सदस्य उपसमिति निर्माण गरेको प्रमुख खुलालले बताउनुभयो । उहाँका अनुसार यो अभियानले पहिले दैनिक छाक टार्न समस्या भएकोलाई र आवश्यकता अनुसार जिल्लाका बृद्धाश्रम, क्वारेन्टिन तथा आइसोलेसनलाई पनि सहयोग गर्ने भएको छ । आज २५ परिवारलाई फुड बैंकबाट खाद्यान्न सहयोग गरिएको छ । फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म हेटौंडाको अटोल्याण्ड चोकमा सञ्चालन गरिनेछ ।

‘फुड बैंकमा दाल, चामल, नुन, तेल, मसला लगायतका खाद्यान्न सामग्री राखिएको छ । फुड बैंक उद्घान कार्यक्रममा मकवानपुर उद्योग वणिज्य संघका अध्यक्ष कुष्ण कटुवाल, उपाध्यक्ष कुष्ण अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, दुग्ध सहकारी संघ लिमिटेडका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटा, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल लगायतको उपस्थिति रहेको थियो । फुड बैंक अभियानलाई वडा अध्यक्ष नविन सिग्देलले २५ बोरा चामल र मकवानपुर मुस्लिम युवा समाजका अध्यक्ष समिम खानले १० बोरा चामल सहयोग गर्ने घोषणा गर्नु भएको छ ।