हेटौँडा : लागूऔषध गाँजासहित हेटौँडा–१३, पदमपोखरीका २७ वर्षीय विवेक थिङ बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२१, छठीमाईघाटबाट पक्राउ परेका छन् । शुक्रबार राती १० बजेको समयमा हेटौँडाबाट मोटरसाइकलमा बीरगन्जतर्फ जाँदै गरेको थिङको साथबाट प्रहरीले ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजमार्ग सुरक्षाको क्रममा जीतपुर–सिमरा उपमहानगरपालिका–२१, छठीमाईघाटबाट थिङलाई नियन्त्रणमा लिएको आइतबार सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा बा ०२–०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकल रोकेको थियो । चारवटा पोका बनाएर गाँजा तस्करी गर्ने अन्य ३ जना फरार भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले फरार भएकाहरुको खोजी गरिरहेको जानकारी दिएको छ । पछिल्लो समय बारा प्रहरीले लागूऔषध गाँजा, अफिमसहित मकवानपुर जिल्लाका मानिसहरुलाई पक्राउ गर्ने क्रम बढेको छ ।